सनराइज बैङ्कद्वारा भद्रपुरको गिरी चोकमा यात्रु प्रतीक्षालय निर्माण
भद्रपुर । सनराइज बैङ्क शाखा कार्यालय भद्रपुर शाखाले भद्रपुर-५ स्थित गिरी चोकमा यात्रु प्रतीक्षालय निर्माण गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत करिब दुई लाख लागतमा यात्रु प्रतीक्षालय निर्माण गरिएको भद्रपुर शाखा प्रमुख भरत प्रसाईँले जानकारी दिए ।
सो यात्रु प्रतीक्षालयको आइतबार बिहान एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल र बैङ्कका कोसी प्रदेश प्रमुख विनोद गजुरेलले प्रतीक्षालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, शाखा प्रमुख भरत प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । उक्त यात्रु प्रतीक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म यात्रा गर्ने दैनिक सयौँ यात्रुहरू लाभान्वित हुने बैङ्कको विश्वास छ । सनराइज बैङ्कले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत देशैभरि स्वास्थ्य, शिक्षा, सिपमूलक तालिम, वित्तीय साक्षरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरूमा विभिन्न कामहरू गर्दै आएको जनाइएको छ ।