गरिबीका कारण घरेलु हिंसा तथा मानव बेचबिखन बढ्दो
भद्रपुर । नेपालमा गरिबी, शिक्षा तथा जनचेतनाका कमीका कारण घरेलु हिंसा तथा मानव बेचबिखन हुने गरेको बताइएको छ । महिला विकाश र कानुन मञ्च झापाले भद्रपुर नगरपालिकासँग समन्वयमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धित पालिकाको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रमका भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गरिबिका कारण हिंसा हुने गरेको बताउँदै हिंसा तथा ओसारपसार रोक्नलाई सबै सङ्घ संस्थाको भूमिका अपरिहार्य रहनु पर्ने बताए । उनले भद्रपुर नगरपालिकाले छिट्टै स्थानीय तहमा कानुन बनाएर हिंसा तथा ओसारपसार नियन्त्रण गर्न कटिबद्ध रहेको बताए।
नगर उपप्रमुख राधा कार्कीले नगरपालिका मानव बेचबिखन ओसारपसार रोक्न विशेष प्रयास गरिरहेको बताइन्। सहभागीहरूले वैदेशिक रोजगारमा जाने बहानामा तथा खुला सिमानाका कारण मानव बेचबिखन तथा ओसारपसार हुने गरेकोले स्थानीय प्रत्येक वार्ड तथा टोल टोलमा नियन्त्रण कक्ष रहनु पर्ने बताएका छन् । कानुन व्यवसायी सविन श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मानव बेचबिखन ओसारपसार ऐन २०६४ का बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा भद्रपुरका वडा अध्यक्षहरू रामबहादुर कँडेल , हेमबहादुर कार्की, रतिया राजवंशी, अभिषेक ढुङ्गाना र टेकबहादुर खड्का काजीले लगायतले आआफ्नो वडामा हुने गरेका हिंसाका बारेमा जानकारी गराएका थिए । मञ्चकी केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कानुन व्यवसायी देवी निरौला अधिकारीले गरेकी थिइन्। छलफलमा सरोकारवाला सङ्घसंस्थाबाट रेखा अधिकारी, शिला खड्का, विक्रम वाग्ले, कञ्चन सिटौला, जीवनकला राउत, सन्जु कोइराला लगायतले आआफ्ना सुझाव राखेका थिए ।