२०८३ बैशाख १६ गते , बुधबार

कचनकवल गाउँपालिकाले वितरण गरेको माछाको भुरामा ठगिए किसान, १००० को पोकामा ५०० मात्र

sajilo news
झापा
२०८० असार १६ गते , शनिबार
कचनकवल गाउँपालिकाले वितरण गरेको माछाको भुरामा ठगिए किसान, १००० को पोकामा ५०० मात्र

झापा । कचनकवल गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसानहरू ठगिएका छन् । एउटा प्याकेटमा एक हजार वटा माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर ठगी गरेको किसानहरूले बताएका छन् ।

उनीहरूले गाउँपालिकाको कार्यालयबाटै आफूहरू ठगिएको हुँदा यस कार्यालयबाट ठगी गर्ने जिम्मेवार कर्मचारीउपर छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछा पालक किसानहरूलाई क्षतिपूर्तिसमेत दिलाउन माग गरेका छन् । माछा पालक भवेश राजवंशी , प्रदीप राजवंशी , कर्णसिंह राजवंशी , अर्जुन राजवंशी , बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै कचनवकल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई उजुरी दिएका छन् ।

चार हजार भुराको लागि ६ हजार रुपैयाँ गाउँपालिका कार्यालयमा बुझाएका भवेश राजवंशीले दुई हजार भुरा मात्र पाएका छन् । ‘ चार हजार भुरा भनेर गाउँपालिकाबाट लिएर गएकोमा घर पुगेर गन्दा दुई हजार मात्र थियो’ उनले भने,‘ अरू किसानहरू पनि त्यसरी नै ठगिएका छन् ।’ गाउँपालिकाबाट ४२ जना किसानले माछाको भुरा लगेका थिए ।

किसानहरूले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी सूचना प्रकाशित भएको थियो । गाउँपालिकाले गत जेठ १४ गते माछा पालक किसानका लागि माछाको भुरा पचास प्रतिशत अनुदानमा दिने भन्दै जेठ २८ गतेभित्र रकम जम्मा गर्न सूचनामार्फत आव्हान गरेको थियो भने असार १२ गते माछाको भुरा वितरण गरेको थियो ।

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । वितरणको जिम्मा कर्मचारीहरु दीपक अधिकारी , मशिन्द्र यादव र हेमराज पौडेलले लिएका थिए । त्यस विषयमा बुझ्न खोज्दा पशुपन्छी तथा मत्स्य विकास शाखाका मशिन्द्र यादवको फोन उठेन । गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले माछाको भुरा वितरणमा त्रुटि भएको हुनसक्ने भन्दै त्यसबारे छानबिन अघि बढाएको बताइन् । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले किसानहरू ठगिएको र माछा वितरणमा भएको अनियमितताका बारेमा छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई भनिसकेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार