कचनकवलका वडा अध्यक्षमाथि हेलमेट प्रहार, नाकको डाँडी भाँचियो
झापा । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ग्यास अजमल मियामाथि कुटपिट भएको छ । बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल गएका वडा अध्यक्ष मियामाथि बिहीबार विहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा कुटपिट भएको हो ।
वडा अध्यक्ष मियालाई मेचीनगर नगरपालिका– ६ निवासी ३६ वर्षीय विजय पनेरुले हेलमेट प्रहार गरी कुटपिट गरेको बताइएको छ । वडा अध्यक्ष मिया श्रीमतीसहित आफ्नो कारभित्र बसिरहेको बेला पनेरुले अन्धाधुन्ध हेलमेट प्रहार गरेको थिए । प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला सडकमा लडेका थिए ।
त्यही निहुँमा उनले कारभित्र रहेका वडा अध्यक्ष मियामाथि सांघतिक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिटबाट वडा अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाभए लगतै कुटपिटमा संलग्न पनेरु मोटरसाइकल चढेर भाग्न खोज्दा स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ । यता पीडितले दोषीलाई कडा कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् ।