२०८३ बैशाख १६ गते , बुधबार

शिवसताक्षी ६ मा सार्वजनिक सुनुवाइ, नागरिकको गुनासै-गुनासा 

sajilo news
झापा
२०८० जेष्ठ ३२ गते , विहीबार
शिवसताक्षी ६ मा सार्वजनिक सुनुवाइ, नागरिकको गुनासै-गुनासा 

(विनोद सापकोटा) शिवगञ्ज । शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ ले पनि सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । यस अघि वडा नम्बर ८ ले पनि सम्पन्न गरेको थियो ।

वडा कार्यालय परिसरमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम, प्रभावकारिता र सेवा प्रवाहका बारेमा सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारी सँग हाकाहाकी प्रश्न गरेका थिए । कार्यक्रममा वडाका २७८ स्थानीय सहभागी भएका थिए । 

सार्वजनिक सुनुवाइमा ४३ जनाले विभिन्न विधि अपनाएर गुनासो तथा सुझाव राखेका थिए । सहभागी मध्ये २६ जनाले उठेर, १३ ले गुनासो तथा सुझाव टिपाएर र ४ जनाले खामबन्दी गुनासो तथा सुझाव राखेका थिए ।

कार्यक्रममा सहभागीले राखेका गुनासा मध्ये ७२ प्रतिशत नगर केन्द्रित गुनासा छन् । तर नगर प्रमुख कार्यक्रममा अनुपस्थित थिए । उपप्रमुख नरमाया कार्की कार्यक्रमको मध्यान्ह तिर पुगेकी थिइन् । सहभागीले राखेका गुनासा मध्ये २८ प्रतिशत वडा केन्द्रित थिए । 

कार्यक्रममा नगर प्रमुख र उपप्रमुख अनुपस्थित हुँदा सेवाग्राहीले वडा अध्यक्षलाई प्रश्न गरेका थिए । उनीहरूले भने ‘हामीले भोट दिएर जिताएको ‘‘मेयर साहेब’’ खोइ ?’ जनताका सुझाव भए ग्रहण र गुनासो भए तत्काल सम्बोधन गर्न नगर प्रमुख र उपप्रमुख तयार हुनुपर्ने सहभागीको तर्क थियो । उनीहरूले भने,‘ नगर प्रमुख र उपप्रमुख दुईजना नै अभिभावक सार्वजनिक सुनुवाइमा नहुँदा आफूहरूलाई कार्यक्रम नै खल्लो महसुस भयो ।’

नगर केन्द्रित गुनासोको जवाफ नगर प्रमुख र उपप्रमुखको अनपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले दिए । कार्यक्रमको मध्यान्न पछि पुगेकी उपप्रमुख ले नगर स्तरीय गुनासोको सुनुवाइ गरेकी थिइन् । वडा केन्द्रित गुनासाको वडा अध्यक्ष मनोज खुलाल कार्की र गोमा रिजालले सहभागीलाई जवाफ दिएका थिए । सडक पूर्वाधार, कृषि, शिक्षा, पशु, स्वास्थ्य, सामाजिक, योजना, शान्ति सुरक्षा, महिला तथा बालबालिका लगायतका विषयमा सहभागीले हाकाहाकी प्रश्न गरे ।

शिक्षाका विषयमा उठेका गुनासाको शिक्षा अधिकारी छवि ढकाल र शिवगञ्ज बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष मिलनकुमार ढुङ्गानाले जवाफ दिएका थिए । शान्ति सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालय शिवगञ्जका ललित झाले सेवाग्राहीलाई जवाफ दिए । 

कार्यक्रममा नगरका योजना, पशु, कृषि, सहकारी, स्वास्थ्य लगायत शाखाका प्रमुख सहभागी भएनन् । उनीहरूलाई वडाले दुई दिन अघि जवाफ देहीताका रुपमा आमन्त्रण गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस, एमाले, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको बाक्लो उपस्थिति थियो । 

सताक्षी मिडिया प्रालिका सञ्चालक समेत रहेका पत्रकार विनोद सापकोटाले सहजीकरण गरेको कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य गोमा रिजालले गरेकी थिइन् । सो कार्यक्रममा वडा अध्यक्ष मनोज खुलालले एक वर्षे अवधिको प्रगति विवरण पेस गरेका थिए ।

सम्बन्धित समाचार