२०८३ बैशाख १६ गते , बुधबार

मेचीनगरमा बालश्रमविरुद्ध र्‍याली प्रदर्शन

sajilo news
झापा
२०८० जेष्ठ २९ गते , सोमबार
मेचीनगरमा बालश्रमविरुद्ध र्‍याली प्रदर्शन

मेचीनगर । ‘सामाजिक न्याय प्राप्तिका लागि बालश्रम अन्त्य’ भन्ने मूल नाराका साथ बालश्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मेचीनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १२ विश्वभर यो दिवस मनाइन्छ ।

एसियन हाइवेबाट घर घरमा जगाउनु छ, बाल मजदुरी हटाउनु छ, बालश्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौँ, मेहनत मजदुरी नगराऔँ, सानो हातमा कलम थमाऔँ, बालबालिका भविष्यका कर्णधार हुन् भन्ने नारा अंकित प्लेकार्ड सहितको र्‍यालीले काँकडभिट्टा बजारको मुख्य-मुख्य भागको परिक्रमा गरी सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभाका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बालश्रम अन्त्यका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताउँदै बाल श्रम जघन्य अपराध रहेको र मेचीनगर नगरपालिकालाई बालश्रम मुक्त नगरको रूपमा घोषणा गर्न गृहकार्य भइरहेको स्पष्ट पारिन् । यदि कहीँ कतै बाल श्रम भइरहेको थाहा हुन् साथ स्थानीय सरकार र प्रशासनलाई खबर गर्न उनले आग्रह गरिन् ।

मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, माइती नेपाल, साना हातहरू नेपाल, आफन्त नेपाल, विश्व सेवा विस्तार संस्था, साहसी महिला नेपाल, शक्ति समूह, नेपालको लागि आवाजलगायतका संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश साना हातहरू नेपाल काँकडभिट्टा शाखाका प्रमुख रमेश गुरुङले नेपालको कुल जनसङ्ख्याको २७ दशमलव ४० प्रतिशत १४ वर्षसम्मका बालबालिका रहेको र एउटा तथ्याङ्कअनुसार २०२१/२०२२ मा १५ दशमलव ३० प्रतिशत बालबालिकाहरू बाल श्रमिक रहेको जानकारी गराएका थिए । २०२१/२०२२ को युनिसेफको तथ्याङ्कअनुसार १७ हजार बालबालिका इँटाभट्टामा कार्यरत छन् ।

मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्र मेचीनगरका महासचिव खडानन्द भण्डारीले गरेका थिए । र्‍यालीसहित कार्यक्रममा नेपाल, सशस्त्र र ट्राफिक प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी , अधिकारकर्मी लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार