भद्रपुर नगरको आवधिक योजना सम्बन्धी तालिम
भद्रपुर । भद्रपुर नगरपालिकाले आवधिक योजना र मध्यकालीन खर्च संरचना निर्माण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीलाई दुई दिने तालिम सुरु गरेको छ ।
विकसित तथा उन्नत नगरका लागि निर्माण हुनु पर्ने योजनाका लक्ष्य निर्धारण गर्दै प्रस्ट गन्तव्यका साथ मध्यावधि खर्च संरचना बारे जानकारी राख्न सक्ने सरोकारवाला निर्माण गर्न तालिम आयोजना गरिएको हो ।
तालिमको सहजीकरण क्रमशः राष्ट्रिय योजना आयोगका निर्देशक यदुनाथ आचार्य, योजना अधिकृत रमेश पराजुली र बविता भट्टराईले गरिरहेका छन् भने भद्रपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधि, विभागीय प्रमुख तथा शाखा प्रमुखहरू सहभागी रहेका छन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले समृद्ध भद्रपुर नगर निर्माण गर्न बनाइने योजनाहरू प्रभावकारी बन्नका लागि तालिम फलदायी हुने विश्वास राखेका छन् । उनले राज्यले तोकेका १२ वटा सूचक भित्र रहेर कार्यान्वयन योग्य योजना निर्माण गर्न सरोकारवाला सफल हुने विचार राख्दै विकासको गति बढाउन कतिपय विगतका योजना पुनरावलोकन गरी दीर्घकालीन सोच बोकेर मध्यकालीन खर्च संरचना निर्धारणमा सहयोग हुने प्रस्ट पारेका छन् ।
नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको नगर उपप्रमुख राधा कार्की, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले मन्तव्य राख्दै भद्रपुरको उन्नतिका लागि तालिम फदायी हुने विश्वास व्यक्त गरेका थिए ।