नागरिकको तर्फबाट खबरदारी आवश्यक !
भारतले हाम्रो सिमाना मिचेको कुरा होस् या उसले हामीमाथि अन्यायपूर्ण ढङ्गले लगाएको नाकाबन्दी । भारत र नेपाल बिच बेला बेलामा ठाकठुक पर्दा हामीले सामना गर्नु परेका चुनौतीहरूलाई उपलब्धिमा बदल्ने कोसिस हामीले कहिल्यै गरेनौँ । मैले यसलाई हामी नेपालीहरूको दुर्बलता मात्र हैन दुर्भाग्य पनि मान्ने गरेको छु ।
मुख्य रुपमा हाम्रो यहीँ कमजोरीका कारण भारतले हामीले उठाएका विषयहरूलाई भाउ दिने गरेको छैन अर्थात् हाम्रा कुराहरूलाई सधैँ हलुका सँग लिने गरेको छ । एक हिसाबले आफ्नो मनोमानी गर्दै आएको छ । यहाँ सम्म कि भारतीय सुरक्षाकर्मीले तुइनको तार काटिदिँदा हाम्रा नागरिक महाकाली नदीमा खसेर बेपत्ता हुँदा पनि हाम्रो सरकार निरीह बनेर बस्ने गरेको छ । यस्तो स्थितिको सिर्जना हुनुमा आज हामी जति धेरै भारतलाई दोष दिन्छौँ त्यो भन्दा धेरै दोष हाम्रा आफ्नै नेताहरूको रहने गरेको छ ।
यसो भन्दै गर्दा यसका लागि आज कुर्सीमा रहेका नेताहरूलाई मात्र मैले जिम्मेवार ठहराउन खोजेको भने बिलकुल हैन । हामी हाम्रा नेताहरूलाई देश र जनताको भाग्य निर्माताको रुपमा चुनावमा जिताएर माथि पठाउँछौँ । उनीहरू शक्तिशाली कुर्सीमा बस्छन् । शक्तिशाली कुर्सीमा बसेसँगै हाम्रा अधिकांश नेताहरु देश र जनतालाई बिर्सन्छन्, अनि आफ्नो र आफन्तीहरुको भाग्य निर्माणमा रमाउने गर्छन् ।
अब अहिले हाम्रा प्रधानमन्त्री भारतको भ्रमण सकेर भर्खरै फर्कनु भएको छ । यस सम्बन्धमा संसद् लगायत विभिन्न सञ्चार माध्यमहरूमा जे जस्ता चर्चा भइरहेका छन्, सुनेर लाग्छ नेपाललाई आत्मनिर्भर बनाउने विषयमा यो भ्रमण खासै महत्त्वपूर्ण भएको जस्तो लागेको छैन । खैर, भारतले सिर्जना गर्ने हरेक चुनौतीहरूलाई उपलब्धिमा बदल्दै अगाडि बढ्ने हिम्मत हामीले नगरे सम्म,हाम्रो देशलाई आत्मनिर्भर बनाउन गाह्रो छ ।
यसै सन्दर्भमा एउटा ज्वलन्त उदाहरणका रुपमा अहिले म बस्दै आएको मेरो कर्म भूमि कतारलाई लिन सक्छौँ । सन् ५ जुन २०१७ देखि ५ जनवरी २०२१ सम्म साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले चौतर्फी रुपमा कतार माथि नाकाबन्दी गरेका थिए । यो नाकाबन्दीको एक हजार दिन पुरा भएको दिनदिनै पेनिन्सुला कतारका एडिटर–इन–चीफ डा. खालिदअल–शफीको एउटा लेख आएको थियो ।
उक्त लेखमा उनले लेखेका थिए “१९ औं शताब्दीको सुरुदेखि नै कतारले राजनीतिक र भौगोलिक परिवेशमा झेल्नु परेका धेरै षडयन्त्र तथा उत्पीडनका चुनौतीहरूलाई उपलब्धिमा रूपान्तरण गर्दै आएको छ । पछिल्लो पटक हामी माथि अन्याय पूर्ण रुपमा गरिएको घेराबन्दीबाट हामीले राजनीतिक, आर्थिक, कूटनीतिक र ऐतिहासिक रुपमा थुप्रै उपयोगी पाठहरू सिकेका छौँ । हामी अहिलेको वास्तविकता र वस्तुस्थितिलाई मध्यनजर गर्दै एउटा उच्च महत्त्वाकाङ्क्षाका साथ भविष्यको सामना गर्न तयार छौँ ।” यो पढिरहँदा कतारको लिडरसिपमा रहेको अदम्य साहस र आत्मविश्वासले मलाई नतमस्तक बनाएको थियो ।
यो पङ्क्तिकार आफै प्रत्यक्ष साक्षी छ, आफूमाथि छिमेकी राष्ट्रहरू मिलेर साढे तीन वर्षको अवधि सम्म अन्यायपूर्ण ढङ्गले लगाइएको नाकाबन्दीले सिर्जना गरेका कयौँ चुनौतीहरूलाई कतारको नेतृत्वले साँच्चिकै आफ्नो देशलाई जीसीसी भित्र अझ धेरै स्वतन्त्र तथा आत्मनिर्भर बनाउने एउटा सुनौलो अवसरमा परिवर्तन गरेर दुनियाँलाई नै चकित पारिदियो ।
दुग्धजन्य उत्पादनमा लगभग सम्पूर्णरुपले नै आयातमा निर्भर रहेको कतारले, कतारवासीलाई दूधको अभाव हुन नदिन अस्ट्रेलिया र अमेरिकाबाट ४ हजार गाईहरू त्यतिखेर तत्काल एयर लिफ्ट गरेर ल्याएको थियो । गाईहरूलाई यसरी एयर लिफ्ट गरेर ल्याइएको यो घटनालाई विश्व इतिहासकै सबैभन्दा ठुलो मानिएको थियो ।
आज कतार दुधदही लगायत कतिपय सागसब्जी र अन्य थुप्रै दैनिक उपभोग्य बस्तुहरूको उत्पादन र आपूर्तिमा आत्मनिर्भर बनेको छ । कतारले अहिले आफ्ना दुग्धजन्य उत्पादनहरूलाई ओमान, अफगानिस्तान र यमनमा निर्यात गरिरहेको छ । यसका साथै मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, अल्जेरिया र उज्वे किस्तान लगायतका देशहरूमा कतारले छिट्टै नै आफ्ना दुग्ध उद्योगहरू विस्तार गर्दै छ ।
तर यसको विपरीत हामी भने भारतले हामीमाथि जति पटक र जस्तासुकै थिचोमिचो गरे पनि सुन देखी नुन सबै र सधैँ उसै सँग भर पर्नु परेको अवस्था छ । हाम्रो यस्तो अवस्थाले हामी सामान्य नागरिकलाई जति पीडा हुन्छ, यो पीडा हाम्रा नेताहरूलाई चैँ महसुस हुन्छ कि हुँदैन होला?
नेपाललाई सिङ्गापुर जस्तै बनाउँछौँ भन्ने हाम्रा नेताहरूको भाषण सम्झँदा, कहिलेकाहीँ मेरो आँखा अगाडि बङ्गलादेश आएर उभिने गर्छ । हाम्रो देश सँगको तुलनामा, सन् १९७१ मा स्वतन्त्र बनेको बङ्गलादेशको इतिहास धेरै कलिलो छ । क्षेत्रफलका हिसाबले पनि हामीभन्दा सानो । त्यहाँको जनसङ्ख्या हाम्रो भन्दा झन्डै ६ गुणा धेरै छ । बङ्गलादेशको प्रतिव्यक्ति आय हाम्रो भन्दा डबल छ ।
बङ्गलादेश अहिले दक्षिण एसियामा दोस्रो ठुलो अर्थतन्त्र भएको देशमा गनिन्छ । विश्व बजारमा बङ्गलादेशको पकड हाम्रो भन्दा धेरै सशक्त छ । प्रविधिको प्रयोग तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने कुरामा पनि उनीहरू हामीभन्दा धेरै अगाडि छन् । उनीहरू हाम्रो जस्तो दाता राष्ट्रहरूको आर्थिक सहायतामा हैन व्यापारमा विश्वास गर्छन् । केही कमीकमजोरीहरू त्यहाँ पनि होलान्, तर एउटा कुरा भने हामी निर्धक्क सँग भन्न सक्छौँ, बङ्गलादेशले हाम्रो देशको तुलनामा धेरै अब्बल नेता पाएको रहेछ ।
बङ्गलादेश सँगको तुलनामा हजारौँ वर्षको गौरवमय इतिहास बोकेको हाम्रो देश । संसारको सबै भन्दा अग्लो शिखर सगरमाथाले सजिएको हाम्रो देश । गौतम बुद्धको देश । हाम्रा पुर्खाले हामीलाई बरु प्राण त्याग् नसिकाए तर कसैका सामु झुक्न सिकाएनन् । एक समयमा हाम्रा पुर्खाहरूको अद्भूतवीरता देखेर अङ्ग्रेज सेना पनि नतमस्तक बनेको थियो । यी सबैका कारण विश्वमा हाम्रो आफ्नै सान छ, मान छ । यस्तो गौरवमय इतिहास भएर पनि हाम्रो देश विकास र समृद्धिका हिसाबले किन आज यति धेरै पछाडि छ ?
हाम्रो देशमा अनेकन् स्रोत र सम्भावना भएर पनि हामी सधैँ परनिर्भर किन छौँ ? समस्या कहाँ र केमा छ ? अझै कहिले सम्म रेमिट्यान्स, ऋण र अनुदानले हाम्रो देशको अर्थतन्त्र धानिनु पर्ने हो ? यस्ता विषयमा हाम्रा नेताहरू एक ठाउँमा बसेर कहिल्यै छलफल गरेका होलान् ?कदापि गरेका छैनन् ।
तर भ्रष्टाचार तथा राज्यको श्रोत र सम्पत्ति दुरुपयोग र दोहन गर्ने लगायतका विषयमा भन्ने हाम्रा नेताहरूका बिचमा बराबर छलफल हुने गरेको छ । यसमा भने कसैले शङ्का नगर्दा हुन्छ । अन्यथा नक्कली भुटानी शरणार्थी प्रकरण जस्तो सङ्गठित अपराधको घटना घट्ने नै थिएन ।
लाउडा एअर काण्ड हुँदै आयल निगमको जग्गा खरिद प्रकरण, ३३ किलो सुन, वाइडबडी, ललिता निवास, यति, ओम्नी, बूढी गण्डकी, मदेशमा साइकल वितरण लगायतका ठुला– ठुला दलका ठुला–ठुला नेता मुछिएका भ्रष्टाचारका फाइलहरू बन्द गर्न र भ्रष्टाचारीहरूलाई चोख्याउन हाम्रा नेताहरु अहिले पनि एकजुट नै देखिन्छन् ।
किनभने अहिले कुनै पनि भ्रष्टाचार वा अनियमितता भएको पाँच वर्ष कटेपछि मुद्दा चलाउन नपाइने भनेर भ्रष्टाचार ऐन संशोधन प्रस्तावमार्फत भ्रष्टाचारजन्य कसुरमाथि जसरी हदम्याद तोक्ने र भ्रष्टाचारीलाई उन्मुक्ति दिने षड्यन्त्र गरिदैछ । यो सबैको मिलेमतोमा योजनाबद्ध तरिकाले नै गरिदैछ ।
सरकारको यही हरकतले गर्दा, भ्रष्टाचारीहरू विरुद्ध सरकारले अहिले सुरु गरेको कारबाही के साँच्चिकै इमानदार भएर नै गर्दै गरेको हो त ? के अब हाम्रो देशमा भ्रष्टाचारीहरूका दिन सकिएकै हो त ? यो विषयमा आम नागरिक निश्चिन्तहुनुको सट्टा, अझ धेरै सशङ्कित छन् ।
सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने दाबा गरिराखेको छ । यो भन्दा पहिला बनेका सरकारले पनि यस्तै दाबा गर्ने गर्थे । तर यथार्थमा भने भ्रष्टाचारले देशलाई झनै भित्रभित्रै खोक्रो पार्दै लगेको विभिन्न घटनाहरूले देखाउने गरेको छ ।
झन् अहिले माथिल्लो तहका बहालवाला कर्मचारी तथा पूर्व मन्त्री, उपप्रधानमन्त्रीहरू नै भ्रष्टाचार संलग्न रहेको भनेर भटाभट पक्राउ परेका तथा भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायको रूपमा स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्त नै भ्रष्टाचारमा मुछिएको भनेर आएका समाचारले आमजनतामा ठुलो शंकाउत्पन्न गराएको छ ।
यद्यपि, अहिलेको सरकार तथा प्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका दोषीहरूलाई कारबाही गर्ने सवालमा जुन तदारुकता देखाएको छ, यसले भने आमजनताको मरिसकेको आशालाई पुनर्जीवित गर्न थोरै मद्दत पुर्याएको देखिन्छ । तर यो आशा पनि फेरि कहिले निराशामा परिणत हुने हो, यसको डर भने कायम नै छ । त्यसैले, सरकार तथा प्रहरी प्रशासनको यो कदम हात्ती आयो, हात्ती आयो फुस्सा भने जस्तो मात्र नबनोस् भनेर सरकार तथा सम्बन्धित सबै पक्षलाई आम नागरिकको तर्फबाट खबरदारी गर्न चाहन्छु ।