२०८१ कार्तिक १९ गते , सोमबार

किसान समुदाय : सामाजिक सुरक्षा भत्ता शिक्षाका लागि वरदान साबित

sajilo news
रासस
२०७९ बैशाख ७ गते , बुधबार
किसान समुदाय : सामाजिक सुरक्षा भत्ता शिक्षाका लागि वरदान साबित

(अम्बिका भण्डारी) झापा । छिमेकीका नानीहरु डे्रसमा सजिएर बोर्डिङ स्कूल गएको देख्दा मेचीनगर नगरपालिका ९ की ७० बर्षीया ज्योति किसानलाई आफ्ना नानीलाई पनि त्यसैगरी पढ्न पठाउन पाएँ हुथ्यो भन्ने लाग्थ्यो । आर्थिक अभावका कारण त्यो उनका लागि धेरै टाढाको कुरा थियो ।

तर, समयले कोल्टे फेर्यो । उनको इच्छा छोराको पालनामा पूरा नभए पनि नातिको पालामा भने पूरा भयो । आज उनका १०देखि १५ बर्षसम्मका नाति नातिना छिमेकीको नानी झै सजिएर बोर्डिङ स्कूल जान थालेका छन् । उनीहरुलाई बोर्डिङसम्म पुर्याउन सामाजिक सुरक्षा भत्ताले सहयोग गरेको उनको भनाई छ ।

“भात खानै समस्या थियो उबेला”, ज्योतिले भनिन् “आज सरकारले दिने भत्ताले सजिलो बनायो । नानीहरुलाई पनि पढ्नका लागि सरकारीदेखि बोर्डिङसम्म पुर्यायो ।” उनका तीन जना नाति र नातिनी छन् । तीनै जनालाई उनीहरुकै नाममा आउने सामाजिक सुरक्षा भत्ताले पढ्ने खर्च पुगेको छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिक, एकल महिलासँगै लोपोन्मूख समुदायलाई समेत सामाजिक सुरक्षा भत्ता दिँदै आएपछि आर्थिक अभावमा छोराछोरीलाई शिक्षा दिन नसकेका किसान समुदायका लागि बरदान सावित भएको हो ।

नेपालमै मेचीनगर नगरपालिकामा मात्रै बसोवास गर्दै आएको यो समुदाय अति विपन्न भएकै कारण शिक्षा र स्वास्थ्यबाट विगतदेखि नै बञ्चित हुँदै आएको थियो । “सरकारले दिएको सुरक्षा भत्ता हामी मासिदिँदैनौं”, किसानहरुका राजाको रुपमा रहनु भएका मेचीनगर(९ का सुन्दरलाल किसानले भने, “उनीहरुको शिक्षामा लगानी गरिरहेका छौं ।”

किसान समुदायका बालबालिका शिक्षित भएसँगै अहिले उनीहरुको परिवार र वस्ती नै शिक्षित महसूस भएको उनको भनाई छ । उनले अधिकांशले छोराछोरीलाई बोर्डिङ र सरकारी स्कूल पठाउने गरेको बताए । बालबालिकाको नाममै आएको रकमले मासिक फि, तिर्ने, खाजालगायतका उनीहरुलाई आवश्यक सामाग्री खरिद गर्न पुग्दै आएको उनले जानकारी दिए ।

किसान समुदायका अगुवा जोगी किसानले भत्ताकै कारण समुदायको चेतनास्तरमा समेत सुधार आएको बताए । “हिजो काम नहुँदा के खाउँ भन्ने चिन्ता थियो आज छैन”, उनले भने “हाम्रो त जागिर जस्तै भएको छ तीन तीन महिनामा १२ हजार पाउँछौं ।” उनले खेतबारी पनि नभएका र रोजगारी समेत नपाइरहेको अवस्थामा पाएको भत्ता धेरैको जीवन गुजाराको माध्यम भएको बताए ।

उनका अनुसार विगतमा रक्सी जाड खाएर सकिने भत्ताको समुदायमा आएको सामाजिक चेतनाले शिक्षामा लगानी हुन थालेको हो । यो समुदायका पुरुषहरु भन्दा स्कूल, कलेज गएर पढ्ने विद्यार्थीमा महिला बढी छन् । हाल एसएलसी पास गर्नेको संख्या दुई सय बढीको हाराहारी छ । त्यसैगरी प्लस टु पास गर्ने ७० भन्दा बढी र स्नाहतक गर्नेको संख्या २० को हाराहारीमा रहेको उनको भनाई छ ।
सरकारले २०५२ सालबाट ज्येष्ठ नागरिकलाई जीवन निर्वाह गर्न सघाउनका लागि रु। १०० का दर भत्ता दिन थालेको थियो । हाल सो रकम बढेर मासिक रुपमा चार हजारका दरले वितरण गर्दै आएको छ । सरकारले अझै भत्ता बढाई दिए त रोजगारी नभए पनि बाँच्न समस्या नहुने उनीहरुको बुझाई छ ।

झापाको मेचीनगर, बाहुनडाँगी, शान्तिनगर, धाइजन, बुट्टाबारीलगायत स्थानमा बसोवास रहेको सो जाति लोपोन्मुख समुदायमा सूचीकृत छ । राज्यले लोप हुन लागेको जाति भनेर मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यही पैसा र दैनिक ज्याला मजदूरी गरेर उनीहरुले आफ्नो जीविका चलाउँदै आएका छन् ।

वि।सं २०६८ को जनगणनानुसार किसान समुदायको जनसंख्या एक हजार नौ सय थियो । वि।सं। २०७८ को जनगणनाको तथ्याङ्क सार्वजनिक नहुँदा उनीहरुको जनसंख्या बढेको छ या घटेको भन्ने यकिन हुन बाँकी नै छ ।

सम्बन्धित समाचार