२०८३ मंसीर ५ गते , शुक्रबार

अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

sajilo news
झापा
२०८३ मंसीर ४ गते , विहीबार
अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बरहथवा नगरपालिका–५ का ५४ वर्षीय बिश्वेश्वर महतो, २७ वर्षीय प्रमोदकुमार महतो, २५ वर्षीय अमितकुमार महतो र ३१ वर्षीय सन्तोषकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ बस्ने ३७ वर्षीय सुनिल कुमार रायलाई कोडना गाउँपालिका–२ स्थित फुलपरासीबाट चार–पाँच जनाको समूहले दुईवटा मोटरसाइकलमा आएर कुटपिट गर्दै अपहरण गरेको थियो । उनीहरूले रायलाई पिकअप गाडीमा हालेर बरहथवातर्फ लगेका थिए ।

अपहरणमा परेको जानकारी पाएपछि प्रहरीले घटनाको अनुसन्धान र खोजतलास सुरु गरेको थियो । सोही क्रममा मंसिर २ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ का राजकुमार महतोको घरमा रायलाई कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा फेला पारी प्रहरीले सकुशल उद्धार गरेको हो ।

उद्धारपछि प्रहरीले सोही स्थानबाट सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि घटनामा संलग्न अन्य तीन जनालाई बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अपहरणको कारण वैदेशिक रोजगारीसम्बन्धी आर्थिक विवाद रहेको खुलेको छ । विदेश पठाउने विषयमा भएको विवाद र रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले रायको अपहरण गरिएको अनुसन्धानबाट खुलेको हो ।

त्यस्तै, अपहरणकारीहरूले पीडितसँग फिरौती माग गरी रकम असुल गर्ने क्रममा ३ लाख रुपैयाँ र गरगहना समेत लुटिएको भनी गलत सूचना दिएर घटनालाई अन्यत्र मोड्न खोजेको आशंका गरिएको छ । उक्त घटनामा संलग्न अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार