बिर्तामोडको होटलमा ब्राउन सुगरको कारोबार गर्ने इलामका युवक पक्राउ
बिर्तामोडस्थित होटलमा बसेर लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै आएका इलामका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका–१ घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलमा बस्दै आएका २३ वर्षीय रचित भट्टराई रहेका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ ५ः४५ बजेतिर बिर्तामोड नगरपालिका–५ गणपति रोडमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर भट्टराईलाई चेकजाँच गरेको थियो । सो क्रममा उनको साथबाट ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) फेला परेको थियो ।
प्रहरीले उनको साथबाट २३ हजार ५०० रुपैयाँ नगद र प्र १–०१–०१२ प ५९०९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको थियो । भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनले आफू बस्दै आएको होटलको कोठामा समेत लागुऔषध लुकाएर राखेको खुलेको झापा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।
त्यसपछि प्रहरीले बिहीबार होटलको कोठामा खानतलासी गर्दा खाटमुनि लुकाएर राखेको थप ३ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी बुढाथोकीले दिए । उनका अनुसार पक्राउ परेका भट्टराईको साथ र होटलको कोठाबाट बरामद लागुऔषध, नगद तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धान भइरहेको छ ।