२०८३ मंसीर ४ गते , विहीबार

भद्रपुरमा २४ जना प्रधानाध्यापक छनौटका लागि आवेदन माग

sajilo news
झापा
२०८३ मंसीर ३ गते , बुधबार
भद्रपुरमा २४ जना प्रधानाध्यापक छनौटका लागि आवेदन माग

झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौटका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न सामुदायिक विद्यालयमा २४ जना प्रधानाध्यापक नियुक्त गर्न सूचना जारी गरेको हो ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार आधारभूत तह (कक्षा १–५) मा १० जना, आधारभूत तह (कक्षा १–८) मा ६ जना र माध्यमिक तहमा ८ जना प्रधानाध्यापक आवश्यक रहेका छन् । यसैगरी, दरबन्दी मिलानपछि प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाइने विद्यालयका लागि पनि सूचना जारी गरिएको छ ।

नगरपालिकाले शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ कार्यान्वयन गर्ने सम्बन्धमा नगर शिक्षा समितिको निर्णयअनुसार दरखास्त आह्वान गरेको जनाएको छ । प्रकाशित मितिले २१ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित विद्यालय व्यवस्थापन समितिमार्फत दरखास्त पेस गर्नुपर्नेछ ।

त्यस्तै, तहगत स्थायी दरबन्दी नभएका विद्यालयका रूपमा श्री पशुपतिनाथ आधारभूत विद्यालय भद्रपुर–१, श्री महेशपुर आधारभूत विद्यालय भद्रपुर–४ र सीता आधारभूत विद्यालय भद्रपुर–२ लाई समेत सूचनामा समेटिएको छ । नगरपालिकाले सम्बन्धित विद्यालयमा तहगत स्थायी शिक्षकका रूपमा कार्यरत शिक्षकलाई प्राथमिकता दिँदै योग्यता पुगेका शिक्षकबाट आवेदन माग गरेको छ ।

माध्यमिक तहको प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको तहगत स्थायी शिक्षक हुनुपर्नेछ । मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरी शिक्षा शास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको तथा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको शिक्षक उम्मेदवार हुन पाउनेछन् ।

त्यस्तै, आधारभूत तहको प्रधानाध्यापकका लागि सम्बन्धित विद्यालयको तहगत स्थायी शिक्षक हुनुपर्नेछ । मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरी शिक्षा शास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको शिक्षक उम्मेदवार हुन सक्नेछन् ।

सम्बन्धित विद्यालयमा तहगत स्थायी दरबन्दी नभएमा वा तोकिएको अवधिभित्र आवेदन नपरेमा नगरपालिकाभित्रका अन्य विद्यालयमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकलाई समेत उम्मेदवार बन्न सक्ने व्यवस्था गरिएको नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । नगरपालिकाले दरबन्दी मिलानपछि मात्रै केही विद्यालयमा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइने जनाएको छ । 

सम्बन्धित समाचार