झापामा चर्को आवाजमा मोटरसाइकल चलाउनेलाई कारबाही
मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा ध्वनि प्रदूषण गराउँदै सडकमा सवारी चलाउनेमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने साइलेन्सर जडान गर्ने र सर्वसाधारणलाई असहज हुने गरी मोटरसाइकल चलाउने प्रवृत्ति बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको हालसम्म दुई पाङ्ग्रे सवारीसाधनमाथि एक हजार ६३ वटा कारबाही गरेको छ । तीमध्ये दुई सयभन्दा बढी मोटरसाइकल स्वरूप परिवर्तन गरी सञ्चालन गरिएको कसुरमा कारबाहीमा परेका छन् । विशेषगरी कम्पनीले निर्धारण गरेको मापदण्डविपरीत साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
प्रहरीले कारबाहीका क्रममा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिनुका साथै अवैध रूपमा जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गरी राखेको छ । सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राईका अनुसार सवारीसाधनको स्वरूप परिवर्तन गरेर चर्को ध्वनि निकाल्दै सडकमा गुडाउने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने उनले बताए । उनले भने–सवारीसाधनको स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने गरी सञ्चालन गर्नु नियमविपरीत हो । त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिरहेका छौँ, ट्राफिक नियम उल्लङ्घन गर्ने कसैलाई पनि छुट दिइँदैन ।
कानुनी व्यवस्थाअनुसार सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था छ । सामान्य पार्टपुर्जा परिवर्तन गर्न भने यसले रोक लगाएको छैन । तर, सवारी निर्माता कम्पनीले निर्धारण गरेको विस्तृत विवरण (स्पेसिफिकेसन) परिवर्तन हुने गरी स्वीकृति दिनसमेत नमिल्ने कानुनी व्यवस्था छ । ऐनको दफा १६० को उपदफा (२) को खण्ड (ख) अनुसार दफा ३९ विपरीत काम गर्नेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
नेपाल प्रहरीको ट्राफिक प्रहरीसम्बन्धी आधिकारिक सूचनाले पनि स्वीकृतिबिना सवारीको स्वरूप परिवर्तन गर्नुलाई कारबाही हुने कसुरका रूपमा उल्लेख गरेको छ । सडकमा अनावश्यक आवाज निकाल्ने, सार्वजनिक शान्ति खलल पार्ने र अन्य सवारी चालक तथा पैदलयात्रीलाई असुरक्षित महसुस गराउने गतिविधि नियन्त्रण गर्नका लागि दुई पाङग्रे सवारीमाथि निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख राईको भनाई छ ।
स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलले ध्वनि प्रदूषण बढाउनुका साथै सडक सुरक्षामा समेत चुनौती थप्ने गरेका छन् । विशेषगरी साइलेन्सर पाइप परिवर्तन गरी पटाका पड्किएजस्तो आवाज निकाल्ने, तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने र सडकमा अनावश्यक रूपमा आवाज निकाल्दै हिँड्ने प्रवृत्तिले सर्वसाधारणलाई सास्ती दिने गरेको छ । विद्यालय, अस्पताल, बजार क्षेत्र तथा आवासीय क्षेत्रमा यस्ता मोटरसाइकलको आवाजले थप समस्या सिर्जना गर्ने गरेको स्थानीयको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । मोटरसाइकलको कम्पनीले निर्धारण गरेको स्वरूप र क्षमतामा परिवर्तन गरेर सञ्चालन गर्दा सवारीको प्राविधिक सन्तुलनमा समेत असर पर्न सक्ने बताइएको छ ।
साइलेन्सर, ह्यान्डल, लुकिङ ग्लास, बत्ती तथा अन्य महत्त्वपूर्ण पार्टपुर्जामा आफूखुसी परिवर्तन गर्दा सवारी सञ्चालन जोखिमपूर्ण बन्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । कतिपय चालकले मोटरसाइकललाई आकर्षक देखाउने वा फरक आवाज निकाल्ने उद्देश्यले महँगा साइलेन्सर जडान गर्ने गरेका छन् । तर, त्यस्ता उपकरणले सडकमा अरूलाई पार्ने असरबारे भने बेवास्ता गर्ने गरेको र उनीहरूलाई धमाधम कारबाहीको दायरामा ल्याउने काम भइरहेको ट्राफिक प्रहरी निरीक्षक राईले जानकारी दिए ।
ट्राफिक प्रहरीले पछिल्लो समय सवारी जाँचलाई नियमित बनाउँदै स्वरूप परिवर्तन गरेर सञ्चालन गरिएका मोटरसाइकलमाथि निगरानी बढाएको छ । जफत गरिएका साइलेन्सर पाइप र नियन्त्रणमा लिइएका सवारीसाधनमाथि कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । झापामा पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने प्रवृत्तिविरुद्ध ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । सवारी चालक स्वम्ं पनि आफ्नो सवारीसाधनलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सञ्चालन गर्न सचेत हुनुपर्ने बताइएको छ ।
प्रहरीले ट्राफिक नियम सबैका लागि समान रहेको भन्दै नियम उल्लङ्घन गरेर सवारी चलाउने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्दै आफ्ना छोराछोरीले सञ्चालन गरिरहेका सवारीको स्वरूप परिवर्तन गरेको छ या छैन भन्ने विषयमा अभिभावक समेत जिम्मेवार बन्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । अझै पनि बिर्तामोड, कांकरभिट्टा, दमक, भद्रपुर, बुधबारे, शनिश्चरे लगायतका विभिन्न स्थानमा ट्राफिक प्रहरीको आँखा छलेर चर्को आवाजमा मोटरसाइकल सञ्चालन गर्ने प्रवृत्ति कायम रहेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता सवारी सञ्चालन गर्नेहरूको सूचना दिन सबैसँग आग्रह समेत गरेको छ ।