२०८३ आश्विन ८ गते , विहीबार

भारी वर्षाको पूर्वानुमानपछि झापामा सुरक्षा सतर्कता, नदी किनारका बस्तीमा विशेष निगरानी

sajilo news
पार्थ मण्डल
२०८३ आश्विन ८ गते , विहीबार
भारी वर्षाको पूर्वानुमानपछि झापामा सुरक्षा सतर्कता, नदी किनारका बस्तीमा विशेष निगरानी

आगामी तीन दिन झापासहित देशभर भारी वर्षा हुनसक्ने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालयले नदी तथा खोलानजिकका बस्तीमा उच्च सतर्कता अपनाएको छ। झापा प्रशासनले विशेषगरी गौरीगञ्ज गाउँपालिका–१ र २ तथा झापा गाउँपालिका–१ र २ अन्तर्गतका बस्तीहरू वर्षाका कारण बढी जोखिममा पर्नसक्ने आकलन गर्दै उच्च सतर्कता अपनाइएको हो । 

आज रातिदेखि वर्षा सुरु भएसकेको र असोज ११ गतेसम्म जारी रहनसक्ने आकलन गरिएपछि जिल्ला सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले निर्देशन दिएको छ  ।  प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा सुरक्षा प्रमुखसहितको टोलीले बिहीबार अपराह्न झापा गाउँपालिका–१ र २ अन्तर्गतका जोखिमयुक्त बस्ती तथा आसपासका क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । 

त्यहाँका जनप्रतिनिधिहरूको सहभागितामा गरिएको अवलोकनपछि स्थानीय सशस्त्र र नेपाल प्रहरीलाई आवश्यक कार्ययोजनासहित परिचालन हुन निर्देशन दिइएको छ। सम्भावित बाढी तथा डुबानको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको टोलीलाई समेत तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले जानकारी दिए । 

यसैबीच, सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाले झापाका नदी तथा खोलानजिकका बस्तीमा विपद्जन्य सचेतनामूलक माइकिङ तथा उद्धारसम्बन्धी तयारीलाई तीव्रता दिएको छ। मेची, कनकाई, रतुवा तथा बिरीङ नदी आसपासका गाउँबस्तीमा नियमित रूपमा सचेतनामूलक माइकिङ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाका गणपति तथा एसपी सचिन कर्माचार्यले बताए । उनका अनुसार सम्भावित विपद्का बेला खोज तथा उद्धार कार्यलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी गरिएको छ। विपद्का घटनामा सशस्त्र प्रहरीको सक्रियता निरन्तर रहने र उद्धार कार्यको ट्र्याकिङ तथा अभिलेखसमेत व्यवस्थित गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले पूर्वसूचना संकलनदेखि तत्काल उद्धारसम्मका लागि नदी तथा खोलाको नियमित निगरानी गरिरहेको छ। जोखिमयुक्त नदी तथा खोलाको जोखिम नक्साङ्कन तयार गरी नियमित पेट्रोलिङ गर्ने, पुल, तटबन्ध, कमजोर नदी किनार, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रलाई विशेष निगरानीमा राख्ने तयारी गरिएको उनको भनाई छ । 

 

सम्बन्धित समाचार