२०८३ आश्विन १ गते , विहीबार
झापामा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु
झापा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक भारत किशनगञ्ज जिल्ला जनता सिंघिमारी फुटानी बजार निवासी २८ वर्षीय सुल्तान अली रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान साढे १० बजे झापा गाउँपालिका- ३ मा सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको हिरो ग्ल्यामर मोटरसाइकल अचानक आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक अली गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका अलीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
यता मोटरसाइकललाई प्रहरी चौकी टाघनडुब्बाको नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।