बाहुनडाँगीमा धान खेतमै जंगली हात्ती मृत फेला
झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीस्थित पहलेधापमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। बुधवार बिहान करिब ६ः३० बजे स्थानीयको धान खेतमा एउटा भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईँले जानकारी दिए । हात्ती खेतमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र वन कार्यालयको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। हात्तीको मृत्युको कारण भने तत्काल खुल्न नसकेको डीएसपी चापागाईँले बताए । हात्ती मृत्युको कारणबारे वन कार्यालयको टोलीले आवश्यक अनुसन्धान तथा परीक्षण गरिरहेको भनाई छ । भारतबाट मेचीनगर क्षेत्रमा हुलका हुल हात्ती प्रवेश गर्दा त्यहाँ वर्षौँदेखि मानव–हात्ती द्वन्द्वको समस्या रहँदै आएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट जिल्लामा ८० जनाले ज्यान गुमाएका छन् । भने सो अवधिमा २८ वटा हात्ती मारिएका छन् ।