२०८३ भाद्र ३१ गते , बुधबार
मोरङमा पानी भरिएको भाँडोमा डुबेर बालिकाको मृत्यु
मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षकी बालिकाको मृत्यु भएको छ । केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँ निवासी फडीन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ः३० बजे आफ्नै घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसी (भाँडो)मा भरिएको चिसो पानीमा बालिका डुबेको अवस्थामा उनकी आमा यमुना मगरले फेला पारेकी थिइन् ।
बालिकालाई तत्काल उपचारका लागि धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर, स्वास्थ्य केन्द्रका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाका बारेमा धनकुटाको प्रहरी चौकी डाँडाबजारले साँझ करिब ६ः१० बजे मोरङ प्रहरीलाई जानकारी दिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।