नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको खोजि गर्ने क्रममा ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको हो। भेटिएका शव केहि हिजो निकालिएको छ।
रात परेपछि रोकिएको शव निकाल्ने कार्य आज बिहान हुदैछ। ठूलो संख्यामा बाढिका कारण ज्यान गुमाएकाको शव हुन सक्ने स्थानियको आग्रहमा हिजो प्रहरीको टोली पुग्दा ठूलो संख्यामा शव भेटिएको हो।
बाढीले पुरिएको घरबाट हिजो ५–६ वटा शव निकालिएको र आज बिहानैदेखि बाँकी रहेका शव निकालिने प्रहरीले जनाएको छ। भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म ९ सय ५१ जनाको शव फेला परेको छ। जसमध्ये ९२७ वटा शव जाँच मुचुल्का तयार पारिएको छ। साथै, पहिचान हुन नसकेका ८२४ वटा विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। पहिचान नभएका र अलपत्र परेका ४१३ वटा शव जमीनमा गाडेर व्यवस्थापन गरिएको छ।