२०८३ असार ३० गते , मंगलबार

परिवार नियोजन संघ झापाको निर्वाचन : मतदाता सूचीबाट नाम हटाइएको भन्दै आपत्ति

sajilo news
झापा
२०८३ असार ३० गते , मंगलबार
परिवार नियोजन संघ झापाको निर्वाचन : मतदाता सूचीबाट नाम हटाइएको भन्दै आपत्ति

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा शाखाको निर्वाचन बुधवार सम्पन्न हुँदै गर्दा एकजना आजीवन सदस्य भद्रपुर ९ का डिल्लीराम पोखरेलले मतदाता सूचीमा आफ्नो नाम समावेश नभएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

पोखरेलले आजै संघको निर्वाचन समितिमा निवेदन पेश गर्दै मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएको प्रति ध्यानाकर्षण गराउँदै मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्न आग्रह गरेका छन् ।

पोखरेलले आफू संघको आजीवन सदस्य रहेको र विगतमा नियमित रुपमा आफू संघको निर्वाचनमा मतदाताको हैसियतले भाग लिँदै आएको जनाउँदै यस पटक आफ्नो नाम मतदाता सूचीमा नरहेकोमा आश्चर्यचकित भएको बताए । उनले नियतवश आफ्नो नाम मतदाता सूचीबाट हटाइएको आरोप लगाए । ‘म त ढुक्क थिएँ, तर आज मतदाता सूचीमा नाम हेर्दा मेरो नाम नै छैन’, उनले आश्चर्य प्रकट गर्दै भने– ‘कुनै पनि संघ–संस्थामा आजीवन सदस्यले सदस्यता नवीकरण वा अद्यावधिक गर्नुपर्दैन, यो स्वयम् सिद्ध तथ्य हो, मेरो नाम नियतवश हटाइएको छ भन्ने मेरो बुझाइ हो ।’

अघिल्लो निर्वाचनमा आफ्नो मतदाता क्रमसङ्ख्या २४९ रहेको बताउँदै पोखरेलले आफू अघिल्ला पटक सभापतिका प्रत्याशी गणेश पोखरेलको निर्वाचन प्रतिनिधि भएर मतदान र मतगणनामा सहभागी भएको पनि बताए ।

पोखरेलले निर्वाचन समितिलाई दिएको निवेदनको बोधार्थ नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यसमितिमा पनि पठाएका छन् । यस विषयमा संघको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत खगेन्द्र खरेलसँग बुझ्दा डिल्लीराम पोखरेलले निर्वाचन समितिलाई निवेदन दिएको बताउँदै आवश्यक छलफल र संघको विधानको परिधिभित्र रही निर्णय गरिने जानकारी दिए ।

सम्बन्धित समाचार