२०८३ असार ३० गते , मंगलबार

झापामा सुनका मुन्द्रा चोर्ने जेठी सासु र बहिनी ज्वाइँ पक्राउ

sajilo news
झापा
२०८३ असार ३० गते , मंगलबार
झापामा सुनका मुन्द्रा चोर्ने जेठी सासु र बहिनी ज्वाइँ पक्राउ

झापाको कनकाईमा बालबालिकाका सुनका मुन्द्रा चोर्ने जेठी सासू र बहिनी ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-५ बेनुवाजा टोल निवासी ३६ वर्षीया विमला पाँचकोटी र उनका बहिनी ज्वाइँ शिवसताक्षी-९ निवासी ३० वर्षीय बिर्जु भन्ने विजय दर्जी रहेका छन् ।

गत असार २४ गते साँझ ६ बजे कनकाई ३ का जयराम श्रेष्ठका छोरा ९ वर्षीय प्रजन श्रेष्ठलाई घरनजिकै खेल्ने क्रममा उनीहरूले ललाई फकाई प्रजनले कानमा लगाएको दुई आनी सुनको दुईवटा कुण्डल लुटेर लगेका थिए । ती बालकका बुवा जयरामले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङगामा लिखित निवेदन दिएका थिए ।

इप्रका सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रबी राईको कमान्डमा टोली खटिएर अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेजको आधारमा उक्त सुन लुट्ने विमला पाँचकोटी र उनका बहिनी ज्वाइँ विजय दर्जी रहेको पहिचान खुलेको थियो । सोही राति ११ः३० बजे विमला पाँचकोटीलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । विमलाको साथबाट सुन फेला परेको थिएन । विजय दर्जी फरार रहेकाले खोजतलास भइरहेको थियो ।

त्यसको दुई दिनपछि असार २७ गते बिहान ८ः३० बजे फरार रहेका विजय दर्जीलाई कनकाई-३ कृषि बजारबाट पक्राउ गरिएको हो । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार