२०८३ असार ११ गते , विहीबार

स्कटल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

sajilo news
एजेन्सी
२०८३ असार ११ गते , विहीबार
स्कटल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

समूह 'सी'को खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शिर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो।  समूह 'सी' को मयामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गरेको हो। पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा १ गोल थप्यो। पहिलो हाफमा भिनिसियस जुनियरले २ गोल गरेका थिए। दोस्रो हाफमा म्याथेयस कुन्हाले गोल थपे। 

ब्राजिल र स्कटल्यान्डबिचको खेलमा भिनिसियस जुनियरले खेलको सातौं मिनेटमा गोल गरेका छन्। उनले स्कटल्यान्डका गोलकिपरले राम्रोसँग कलेक्ट गर्न नसकेको बललाई गोलमा परिणत गरेका हुन्। 

खेलको २२ औं मिनेटमा स्कटल्यान्डविरुद्ध भिनिसियस जुनियरले गरेको गोल अनाधिकृत घोषित गरियो। बल अगाडी बढाउने क्रममा भिनिसियस जुनियरले स्कटल्यान्डका डिफेन्डरलाई च्यालेन्ज गरेको भन्दै भिडियो असिस्टेन्ट रेफ्रि(भिआर)बाट गोल खारेज गरिएको थियो। 

खेलको पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा भिनिसियस जुनियरले हेडरमार्फत गोल गर्दै खेललाई ब्राजिलको पक्षमा ल्याए। दोस्रो हाफमा पनि स्टकल्यान्डमाथि ब्राजिलकै दबदबा रह्यो। दोस्रो हाफमा खेलको ६० औं मिनेटमा म्याथेयस कुन्हाले २ डिफेन्डरलाई बिट गर्दै राम्रो गोल गरे।  दोस्रो हाफमा स्कटल्यान्डले केही सट प्रहार गर्यो तर सफल कुनै भएनन्। 

ब्राजिलसँग पराजि हुँदा स्कटल्यान्ड समूह सीको तेस्रो स्थानमा रहँदै समूह चरणको खेल सक्यो। स्कटल्यान्ड भने प्रतियोगितामा नकआउट पुग्ने आशा अझै बाँकी छ। १२ समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने ८ टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान रहेको छ । 

नेयमार करिब ३ वर्षपछि मैदानमा

ब्राजिलियन स्टार स्ट्राइकर नेयमार ९८१ दिनपछि राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिए। स्टकल्यान्डसँगको खेलको ७६ औं मिनेटमा म्याथेयस कुन्हालाई प्रतिस्थापन गर्दै नेयमार मैदान प्रवेश गरेका छन्। लामो समय चोटका कारण मैदान बाहिर रहेका नेयमारले ब्राजिलियन जर्सीमा विश्वकपको मैदानमा उत्रिएका छन्। 

उनले आधिकारिक रुपमा ब्राजिलको जर्सीमा सन् २०२३ अक्टोबर १७ मा खेलेका थिए । त्यसयता, राष्ट्रिय टोलीबाट पर रहेका नेयमार ९८१ दिनपछि मैदानमा उत्रिएका हुन्।

सम्बन्धित समाचार