२०८३ असार ७ गते , आईतबार

झापामा ‘लागूऔषधविरुद्ध प्रहरी अभियान’ सुरु

sajilo news
झापा
२०८३ असार ६ गते , शनिबार
झापामा ‘लागूऔषधविरुद्ध प्रहरी अभियान’ सुरु

झापामा दिनानुदिन भयावह रुपमा बढ्दै गएको लागूऔषधको समस्या न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापाले आजदेखि ‘लागूऔषधविरुद्ध अभियान’सञ्चालन गरेको छ । लागूऔषधको समस्या जटिल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँगको सहकार्यमा सो अभियान औपचारिक रूपमा सुरु गरेको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो अभियानको शुभारम्भ गरेका छन् ।

मागमा कमी, आपूर्ति नियन्त्रण र क्षति न्यूनीकरण गरी तीन वटा रणनीतिसहित जिल्ला प्रहरी कार्यालयले शुरु गरेको लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत मुख्य गरेर पाँच प्रकारका कार्यक्रम गरिने भएको छ । पहिलो कार्यक्रम पोस्टरिङ रहेको छ । पोस्टरिङ क्याम्पियनअन्तर्गत पालिकाभित्रका सबै विद्यालयहरूमा टाँस्नका लागि जनप्रतिनिधिहरूलाई पोस्टर दिइने भएको छ । विद्यालयहरूमा सचेतनामूलक पोस्टर र सामाजिक सन्देश प्रवाह गरिने छ ।

त्यस्तै दोस्रो कार्यक्रम टीच द टिचर्स रहेको छ । विद्यार्थीहरूलाई सचेत बनाउने कडी शिक्षकहरू भएकाले लागूऔषधविरुद्ध सचेतना जगाउन शिक्षकहरूको सहयोग लिइने भएको छ । लागूऔषधविरुद्धको कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने भएको छ । शिक्षकहरूलाई दुर्व्यसनीका प्रारम्भिक लक्षण पहिचान , आधारभूत परामर्श र रिफरेल सिस्टमबारे तालिम दिइने जनाइएको छ ।

तेस्रो कार्यक्रम फुटबल पार्टनरसीप रहेको छ । युवा लक्षित त्यस कार्यक्रमअन्तर्गत पाँच वटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच मैत्रीपूर्ण खेलकुदमार्फत सामिप्यतासहितको सूचना आदान प्रदान गरिने छ ।चौथो कार्यक्रमलाई जान क्लब नाम दिइएको छ । त्यसअन्तर्गत राजनीतिक दल , सामाजिक संघसंस्था ,नागरिक समाजको सहयोग लिइने भएको छ ।७१ वटा प्रहरी इकाईमार्फत समुदाय स्तरीय क्लब गठन , सूचना आदान प्रदान र उत्कृष्ट क्लबलाई सम्मान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागूऔषधको समस्या नियन्त्रण गरेर होइन , सहकार्य गरेर न्यूनीकरण गर्न सकिने भन्दै जिल्लामा लागूऔषधको अवस्थाबारे जानकारी दिएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले झापा जिल्लामा लागूऔषध दुर्व्यसन अत्यधिक मात्रामा रहेको बताउँदै जसले देशको भविष्यलाई नै प्रभावित पार्न सक्ने चिन्ता व्यक्त गरे । उनले अबको ५ वर्ष यही रफ्तारमा लागूऔषधको प्रयोग बढ्ने हो भने कोही पनि अछुतो नरहने र योग्य नागरिक खोज्न निकै मेहनत गर्नुपर्ने दिन आउने बताए । सुधार गृहमा राख्न साधारण मानिसलाई गाह्रो पर्ने भएकाले नेपाल प्रहरीको धरानस्थित सुधार गृह केही सस्तो र परिणाममूलक भएकाले यही आर्थिक वर्षदेखि त्यसलाई बजेट छुट्याई प्रभावकारी ढङ्गले सञ्चालन गरिने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले झापा जिल्लामा लागूपदार्थ दुर्व्यसन र कारोबार अत्यधिक मात्रामा बढ्दै गएकोले कुनै पनि अभिभावकले मेरा सन्तति लागूऔषध दुर्व्यसनमा फसेको छैन भनेर ढुक्क हुन सकिने अवस्था नरहेको बताए । उनले यसको समाधानमा अब कति पनि ढिलाइ गर्न नहुने भन्दै त्यसमा नागरिक र प्रहरीको उत्तिकै भूमिका रहनु पर्ने खाँचो औँल्याए । कुनै एउटाको सहयोगबिना लागूऔषधको समस्यालाई नियन्त्रण गर्न नसकिने भएकाले प्रत्येक अभिभावकलाई आफ्ना सन्ततिको गतिविधि र साथी संगतको विषयमा जानकारी लिन उनले सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लागूऔषध दुर्व्यसन सिङ्गो समुदाय र राष्ट्रको डरलाग्दो रोग भएको, कानुन एउटा स्थायी पात्र मात्र भएकोले व्यक्ति, परिवार, अभिभावक र समुदायको चेतनाले मात्र यसको नियन्त्रण सम्भव हुने बताए । लागूऔषध नियन्त्रणमा प्रहरी कार्यालय झापाको यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको प्रशंसा गर्दै उनले आवश्यक सहकार्य र सहयोगको लागि जिल्ला प्रशासन कार्यालय सदैव प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार