मेची नदीमा बाढीमा फसेका र डुबेका व्यक्तिको उद्धार अभ्यास प्रदर्शन
भद्रपुर । भद्रपुरमा तीनदिने विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी अनुशिक्षण तालिमको समापन अवसरमा प्रशिक्षार्थीहरूले मेची नदीमा बाढीमा फसेका तथा डुबेका स्थानीयवासीको उद्धार कसरी गरिन्छ भन्ने विषयमा व्यावहारिक अभ्यास प्रदर्शन (डेमोन्स्ट्रेसन) गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको सहकार्यमा असार ४ गतेदेखि सञ्चालन भएको तालिम शुक्रबार डेमोन्स्ट्रेसन प्रदर्शन गरी सम्पन्न गरिएको हो ।
समापन कार्यक्रममा सशस्त्र प्रहरी, भद्रपुर नगर प्रहरी, रेडक्रसकर्मी तथा प्रशिक्षार्थीहरूले बाढीको बहावमा फसेका व्यक्ति तथा डुबेका व्यक्तिको खोज तथा उद्धार गर्ने विधि, सुरक्षात्मक उपकरणको प्रयोग, उद्धारपछि प्राथमिक उपचारलगायतका प्रक्रिया प्रदर्शन गरेका थिए। मेची नदीमा गरिएको उक्त अभ्यासले विपद्का बेला स्थानीय स्तरमै तत्काल उद्धार कार्य सञ्चालन गर्न सक्ने जनशक्ति तयार भएको सन्देश दिएको सहभागीहरूले बताएका छन्। तालिममा भद्रपुर नगरपालिकाका पाँच नगर प्रहरी तथा विभिन्न वडाका ३० जना गरी ३५ जनाले सहभागिता जनाएका थिए। उनीहरूलाई जलजन्य विपद्, आगलागी नियन्त्रण, प्राथमिक उपचार तथा विभिन्न प्रकारका विपद्मा गरिने उद्धारसम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, गणका सशस्त्र नायव प्रहरी उपरीक्षक मदन रसाइली, गुल्म भद्रपुरका नायव प्रहरी उपरीक्षक शङ्कर शाह ठकुरी, जनप्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष पोखरेलले यस्ता तालिमले विपद्को समयमा सरोकारवाला निकायबीच आवश्यक समन्वय र परिचालनलाई प्रभावकारी बनाउने तथा समुदायमा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै प्रमुख जिल्ला अधिकारी गेलालले झापा प्राकृतिक तथा मानव सिर्जित विभिन्न विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीप विपद्को समयमा उद्धार तथा क्षति न्यूनीकरणमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरे। साथै सम्भावित विपद्का घटनाहरू आइपरेको खण्डमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन उनले आग्रह समेत गरेका छन् । कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।