टिमाई खोलामा रमाइरहेका बेला बाढी आयो, ७ जनाको ज्यान जोगियो
झापाको बुद्धशान्तिस्थित गौडा टिमाई खोलामा पौडी खेल्न गएका ७ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । आज साँझ ६:५० बजे बुद्धशान्ति गाउँपालिका ७ गौडास्थित टिमाई खोलामा पौडी खेल्न गएका ७ जना वर्षाका कारण खोलामा बाढी आएपछि तर्न नसकी फसेका थिए ।
उनीहरूलाई सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको हो । अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईमा जानकारी आएपछि सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमान्डमा ७ जनाको टोली विपद् उद्दारका सामानसहित खटिएको थियो ।
सशस्त्र प्रहरीको टोलीले भद्रपुर-५ बस्ने वर्ष २४ का महेश हलुवाई , सोही ठाउँ बस्ने वर्ष २४ को रोहित साह , वर्ष २३ का भूपाल ठाकुर, वर्ष २३ का पिट्नू वर्मन, बिर्तामोड-५ बस्ने वर्ष २८ की एजिना न्यौपाने, बिर्तामोड-५ बस्ने वर्ष २३ की अनिषा न्यौपाने र बिर्तामोड-९ बस्ने वर्ष ३६ का राजु पाठकलाई उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले जनाएको छ । उनीहरू गर्मी छल्न त्यहाँ पुगेका थिए । त्यस स्थानमा इलाका प्रहरी कार्यालय बुधवारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमान्डमा ९ जनाको टोली पनि खटिएको थियो ।