ट्र्याक्टरबाट लडेर घाइते भएका बाह्रदशीका हेमरमको मृत्यु
झापाको बाह्रदशीमा ट्र्याक्टरबाट लडेर घाइते भएका एक मजदुरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार जेठ १० गते दिउँसो करिब १२ बजे बाह्रदशी गाउँपालिका–३ निवासी गणेश गिरीको घरआँगनमा मे १ त ६२६८ नम्बरको ट्र्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा सोही ट्र्याक्टरमा काम गर्ने मजदुर बाह्रदशी गाउँपालिका–३ बस्ने ३३ वर्षीय शिवलाल हेमरम अचानक ट्र्याक्टरबाट लडेर घाइते भएका थिए। लड्दा उनको पेटमा चोट लागेको थियो ।
घाइते हेमरमलाई तत्काल स्थानीय राजगढ मेडिकलमा उपचार गराइएको थियो। प्रारम्भिक उपचारपछि चोट सामान्य देखिएकाले उनलाई डिस्चार्ज गरिएको थियो। तर, जेठ १२ गतेदेखि पेटको दुखाइ बढेपछि थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो। उनको उपचारकै क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धानका लागि बाह्रदशी गाउँपालिका–२ घर भई वडा नं. ३ बस्दै आएका लक्किराम टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।