आज चट्याङ्गसहित वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।