झिलझिले प्रहरीद्वारा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण
झापाको शिवसताक्षी–३ कमलधापस्थित श्री शान्ति आधारभूत विद्यालयमा अध्ययनरत २५ जना अति विपन्न विद्यार्थीलाई विद्यालय पोसाक (हाउस ड्रेस) वितरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेको पहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक पोसाक सहयोग गरिएको हो । विद्यालय परिवारले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याएको भन्दै इलाका प्रहरी कार्यालय झिलझिलेप्रति उच्च सम्मान व्यक्त गरेको छ ।
विशेषगरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुवाष केसीको नेतृत्वमा भएको सहयोगले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार “जनताको साथी प्रहरी” भन्ने नारालाई व्यवहारमै उतार्दै प्रहरीले शिक्षाको क्षेत्रमा समेत सकारात्मक भूमिका निर्वाह गरेको छ । विपन्न परिवारका विद्यार्थीलाई सहयोग पुग्ने यस्ता गतिविधिले समुदायमा प्रहरीप्रति थप विश्वास र सम्मान बढाएको स्थानीयवासीले बताएका छन् ।
यस अवसर जुटाउन समन्वयकारी भूमिका निर्वाह गर्ने पाराबारी बजार व्यवस्थापन समिति अध्यक्ष मेघराज ओझाप्रति विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराईले आभार व्यक्त गरेका छन् । कार्यक्रमले सामाजिक सेवामा प्रहरीको सक्रियता र शिक्षाप्रति देखाएको संवेदनशीलतालाई उजागर गरेको सहभागीहरूको भनाइ थियो ।