प्रहरी हिरासतबाट फरार लागूऔषध मुद्दाका प्रतिवादी झापाबाट पक्राउ
जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार लागूऔषध मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ विराटनगर–६ स्थायी घर भई हाल झापा दमक नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय भोला भन्ने भगवान् लाल राय रहेका छन्।
प्रहरीका अनुसार उनलाई २०८२ साल असोज १९ गते साँझ करिब ७ बजे झापा कमल गाउँपालिका–५ पाँडार्जुगी क्षेत्रबाट ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। उक्त लागूऔषध प्लास्टिकबाहेक तौल गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध सम्बन्धी कसुरमा पक्राउ परेका रायलाई झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको अवस्थामा २०८२ साल असोज २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा हिरासत कक्षबाट भागी फरार भएका थिए।
फरार रहेका उनलाई खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गएराति दमक नगरपालिका–६ पूर्व बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।