२०८३ जेष्ठ १४ गते , विहीबार
झापाको कनकाईमा दियोबाट आगलागी हुँदा चार लाख बराबरको क्षति
झापाको कनकाईमा एक घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार साँझ करिब ७ बजे कनकाई नगरपालिका–६ चम्पापुर निवासी मोहन चौहानको काठ र टिनको छानो भएको दुई तल्ले टाँडे घरमा दियोबाट अचानक आगो सल्किएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगोले काठ, भाँडाकुँडा, लत्ताकपडा तथा अन्य घरायसी सामानसमेत जलेर नष्ट भएको छ । घटनामा मानवीय तथा पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब रु ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।