झापाको कचनकवलमा आगलागी हुँदा दाजुभाइको घर जलेर नष्ट, १८ लाखको क्षति
झापाको कचनकवलमा आगलागी हुँदा दाजुभाइको घर जलेर नष्ट भएको छ । आज दिउँसो १२ः२० बजे कचनकवल गाउँपालिका-५ डाँगावारि बस्ने मैरदिन मियाँ र उनका दाजु मैनुदिन मियाँको घर जलेर नष्ट हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मैरदिन मियाँको टिनको छाना र प्लास्टिकले बनाएको भान्सा घरमा बिजुलीको तार सर्ट भई आगलागी शुरु भएको थियो । आगलागीबाट भान्सा घरमा रहेको अन्नपात भाँडाकुँडा, दाउरा समेत सम्पूर्ण जलेर नष्ट हुँदा अन्दाजी ६ लाख बराबरको धनमाल नष्ट भएको थियो ।
सोही आगोले दाजु मैनुदिन मियाँको मूल घरलाई समेत भेटेपछि घरभित्र रहेका अन्नपात, चामल, लत्ताकपडा नगद तथा जिन्सीमाल, सुनचाँदी, भाँडाकुँडा, काठसमेत गरी अन्दाजी ११ लाख बराबरको क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल डाँगाबारी, भद्रपुर नगरपालिकाको दमकल, स्थानीयबासीहरुको सहयोगमा दिउँसो १ः३० बजे पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।