२०८३ जेष्ठ ७ गते , विहीबार
भद्रपुरमा ब्राउन सुगरसहित दुईजना पक्राउ
झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा मंगलबार दिउँसो करिब २ः२० बजे प्रहरी चौकी मेचिपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–२ निवासी २९ वर्षीय दीपेन्द्र ठटाल र गौरीगञ्ज निवासी ३५ वर्षीय असन राईले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाई ल्याएको ६ ग्राम १४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरले थप अनुसन्धानका लागि जिल्ला पठाएको छ ।