२०८३ जेष्ठ ६ गते , बुधबार

अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध घोषणा

sajilo news
एजेन्सी
२०८३ जेष्ठ ६ गते , बुधबार
अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध घोषणा

अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पु¥याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले अमेरिकाले यो कारबाही गरेको जनाएको छ।

नयाँ प्रतिबन्धअन्तर्गत ५० भन्दा बढी कम्पनी, व्यक्ति तथा तेल ट्यांकरहरूलाई लक्षित गरिएको छ। अमेरिकाले ती सबैले इरानलाई विद्यमान अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न तथा अर्बौं डलर बराबरको अवैध आम्दानी गर्न सहयोग गरेको आरोप लगाएको छ।

यसको प्रभाव विश्वव्यापी तेल बजारमा समेत देखिन सक्ने विश्लेषण गरिएको छ। यो प्रतिबन्ध अमेरिकी कोष विभागअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले घोषणा गरेको हो। 

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले पश्चिम एसियामा जारी तनाव र द्वन्द्वको पृष्ठभूमिमा इरानमाथि थप दबाब सिर्जना गर्ने उद्देश्यले यो कदम चालेको बताइएको छ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्ध मुख्य रूपमा इरानको ठूलो विदेशी मुद्रा विनिमय कम्पनी ‘अमिन एक्सचेन्ज’ माथि केन्द्रित छ। संयुक्त अरब इमिरेट्स, टर्की, हङकङ र चीनमा सञ्चालन भइरहेका विभिन्न फ्रन्ट कम्पनीहरूमाथि पनि कारबाही गरिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको अवैध बैंकिङ प्रणालीले आतंकवादी गतिविधिहरूलाई सहयोग पु¥याउन गोप्य रूपमा रकम स्थानान्तरण गर्ने गरेको आरोप लगाए।

उनले भने, ‘अमेरिकाले आफ्नो ‘आर्थिक दबाब’ अभियान अन्तर्गत इरानको लुकेको बैंकिङ संरचनालाई ध्वस्त पार्दै जाँदा विश्वभरका वित्तीय संस्थाहरूले आफ्नो प्रणालीको दुरुपयोग हुन नदिन अत्यन्त सतर्क रहनुपर्छ।’

यसैबीच अमेरिकी अर्थ मन्त्रालयले १९ वटा जहाजमाथि पनि प्रतिबन्ध लगाएको छ। ती जहाजहरूले इरानी तेल, तरल पेट्रोलियम ग्यास (एलपीजी), मेथानोल तथा पेट्रोकेमिकल उत्पादनहरू विदेशमा ढुवानी गरेको आरोप लगाइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले यिनै जहाजमार्फत करोडौँ डलर आम्दानी गर्दै आएको थियो। र, सो रकम सेना तथा अमेरिकाले आतंकवादी समूहका रूपमा सूचीबद्ध गरेका संगठनहरूलाई सहयोग गर्न प्रयोग गरिएको थियो।

अमेरिकाले इरानले विदेशी झण्डा प्रयोग गर्ने छद्म जहाज सञ्जालमार्फत अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्ने प्रयास गरिरहेको आरोप पनि लगाएको छ।

सम्बन्धित समाचार