राजधानी एक्सप्रेसमा आगलागी, दिल्ली–मुम्बई रेल सेवा प्रभावित
दिल्लीको निजामुद्दीनतर्फ गइरहेको राजधानी एक्सप्रेस (१२४३१) का दुई डिब्बामा आइतबार बिहान आगलागी भएको छ । घटना आलोट–विक्रमगढ रेलवे स्टेशनबीच भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
त्रिवेन्द्रमबाट हजरत निजामुद्दीन जाँदै गरेको राजधानी एक्सप्रेस रतलामबाट छुटेको केही समयपछि बिहान करिब ५ः३० बजे लूणी–विक्रमगढ खण्डमा बी–१ कोचमा आगलागी भएको थियो। गार्डले तत्काल लोको पाइलटलाई जानकारी दिएपछि रेल रोकिएको थियो।
आगलागीपछि रेलवे कर्मचारीहरूले तत्परता देखाउँदै करिब ६८ यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर अन्य डिब्बामा सारिएको बताइएको छ। सूचना पाएलगत्तै दमकल टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।
घटना रेलवेको कोटा रेल मण्डलअन्तर्गत पर्ने क्षेत्रमा भएको हो। आगलागीका कारण दुई वटा डिब्बा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन। घटनापछि नयाँ दिल्ली–मुम्बई रेलमार्गको सञ्चालन प्रभावित भएको छ भने धेरै रेलहरू विभिन्न स्टेशनमा रोकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।