ओमान तटनजिक भएको आक्रमणमा भारतीय कार्गो जहाज डुब्यो
ओमानको तटनजिकै भारतीय झण्डा भएको एक जहाजमाथि आक्रमण भएको छ। भारतको विदेश मन्त्रालयले बिहीबार ओमानको तटनजिकै भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै गरेको छ।
आक्रमणमा मालवाहक जहाज डुबेकोबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। तर, भारतले उक्त जहाजको नाम ‘हाजी अली’ भएको जानकारी दिएको छ। बिहीबार विदेश मन्त्रालयले जारी गरेको लिखित वक्तव्यमा ओमानको तटनजिकै बुधबार बिहान भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ, ‘व्यावसायिक जहाजहरू र नाविकहरूलाई लगातार निशाना बनाइँदै गरिएको कार्यको हामी निन्दा गर्दछौँ।’ बन्दरगाह, परिवहन तथा जल यातायात मन्त्रालयले जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको र उनीहरूको उद्धारका लागि ओमान प्रशासनलाई धन्यवाद दिएको छ।
बन्दरगाह, परिवहन तथा जल यातायात मन्त्रालयका सचिव मुकेश मंगलले पनि घटनाबारे जानकारी दिएका छन्। ‘हाजी अली नामको काठले बनेको र मोटरबाट चल्ने जहाज सोमालियाबाट संयुक्त अरब इमिरेट्सको शारजाहतर्फ जाँदै थियो,’ उनले भनेका छन्, ‘१३ मे २०२६ को बिहान ओमानको समुद्री क्षेत्रमा त्यसमाथि कथित रूपमा आक्रमण भयो। यसबाट जहाजमा आगो लाग्यो र पछि त्यो डुब्यो।’
आक्रमणपछि जहाजमा सवार सबै १४ जना चालक दलका सदस्यहरूलाई ओमान कोस्ट गार्डले सुरक्षित उद्धार गरी ओमानको डिब्बा पोर्ट पु¥याएको छ। चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको बताइएको छ।
उनले यो घटनाबाहेक पछिल्लो ७२ घण्टामा अन्य कुनै पनि भारतीय जहाज वा भारतीय चालक दल रहेका जहाजहरूमा कुनै घटना भएको जानकारी प्राप्त नभएको बताए।