२०८३ जेष्ठ १ गते , शुक्रबार

झापा गाउँपालिकाले कृषि बजारको घर भत्काउने

sajilo news
झापा
२०८३ बैशाख ३१ गते , विहीबार
झापा गाउँपालिकाले कृषि बजारको घर भत्काउने

झापा गाउँपालिकाले कृषि बजारको जग्गा अतिक्रमण गर्नेलाई हटाउने भएको छ । झापा गाउँपालिका–२ (साबिक कुमरखोद गा.वि.स.)को कृषि बजारको नाममा रहेको साबिक कि.न. ५५ हाल कित्ता न. १ को जग्गामा निर्मित अस्थायी टहरा भत्काइने भएको हो ।

झापा गाउँपालिकाको २ नं वडा कार्यालयले आज सूचना जारी गरी ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा पक्षले आफ्नै खर्चमा हटाइ जग्गा खाली नगरे प्रचलित कानुन बमोजिम उक्त संरचनाहरू हटाउने जनाएको छ । घर भत्काउँदा लाग्ने खर्च समेत स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ४५ (४) बमोजिम सम्बन्धित पक्षबाटै असल उपर गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष हिमालकुमार चम्लागाईद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यहाँ कृषि बजारको नाममा ७ कट्ठा जग्गा रहेको छ । कृषि बजारको उक्त जग्गामा कामु मुखियाले विगत ७–८ वर्षदेखि घर बनाएर बसोबास गर्दै आएकी छन् । कामु मुखियाको बिहे भारतमा भएको हो । उनले श्रीमानलाई ल्याएर कृषि बजारको जग्गामा घर बनाएर माछाको व्यापार गर्दै आएकी छन् । श्रीमान् भारतीय भएको र कामु मुखियाको समेत नेपाली नागरिकता नभएको बताइएको छ ।माइती झापा बजारमा भएकाले उनले माइतीमै आएर बसोबास गर्दै आएकी छन् ।

सम्बन्धित समाचार