२०८३ जेष्ठ १ गते , शुक्रबार

अभिनेत्रीहरू चलचित्रको काम छाडेर फेशन र्‍याम्पतिर

sajilo news
काठमाडौं
२०८३ जेष्ठ १ गते , शुक्रबार
अभिनेत्रीहरू चलचित्रको काम छाडेर फेशन र्‍याम्पतिर

आइइसी कलेज अफ फेशन डिजाइनले १८ जना अभिनेत्री एवम् सेलिब्रेटीलाई शुक्रवार बेलुका र्‍याम्पमा उतार्न लागेको छ । व्यवस्थापक नेक्स्ट मोडल्स नेपालले बिहीबार पत्रकार भेटघाट आयोजना गर्दै शुक्रवार आयोजना हुने ‘ आइइसी डिजाइनर रनवे –१५’ जानकारी गराएको हो ।

‘आइइसी डिजाइनर रनवे –१५’ मा अभिनेत्रीहरू स्वस्तिमा खड्का, आँचल शर्मा, नीति शाह, शिल्पा मास्के, कविता नेपाली, अस्मी श्रेष्ठ, इभा गिरी, आना शर्मा, मलिका महत, अदिति अधिकारीलगायतले विभिन्न डिजाइनरका पहिरन प्रस्तुत गर्ने पनि धमलाले जानकारी गराए ।

यता यही सोको लागि लालीबजारको मोफसल प्रचार यात्रा छोट्याएर अभिनेत्री स्वस्तिमा काठमाडौँ आउँदै छिन भने यसै साता बिहे गरेकी शिल्पाले यो क्याट वाकको लागि हनिमुन यात्रा समेत पछि सारेकी छिन् । आजै सार्वजनिक भएको चलचित्र ‘एक मुठी वादल’को प्रचारका कार्यक्रमहरू छाडेर आँचल पनि यो फेशन सोमा सहभागी हुन लागेकी हुन् । यसरी कतिपय अभिनेत्रीहरू चलचित्रको प्रचार र छायांकन छाडेर फेशन सोमा उत्रँदै छन् ।

दरबारमार्ग स्थित होटेल याक एन्ड यतीमा यो फेशन सोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका १७ वटा विभिन्न आकर्षक फेशन सिक्वेन्सहरू प्रदर्शन हुनेछ । जसका लागि मोडलहरू हिमाञ्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, दीपशिखा नेपाल, प्रेमा लमगाडेसहित ३० जना व्यवसायी मोडलहरू र्‍याम्पमा उत्रने छन् । भारतीय कोरियोग्राफर यतिन गान्धीले यसको कारियोग्राफी गर्दै छन् ।

जेनजी आन्दोलनपछि सुस्ताएको फेशन उद्योग तथा फेसन सोको प्रवर्धनको लागि यो बृहत् फेशन सो आयोजना गर्न लागेको व्यवस्थापक रबी धमलाले जानकारी गराए । यो पूर्ण व्यवासयिक र बृहत् फेशन सो भएको पनि धमलाले जिकिर गरे ।

सम्बन्धित समाचार