सीडीओ कार्यालय भद्रपुर नजिकैबाट फिल्मी शैलीमा सिटी सफारी चोरी
भद्रपुर । भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालय झापा (सीडीओ कार्यालय) नजिकैबाट फिल्मी शैलीमा सिटी सफारी चोरी भएको घटना बाहिर आएको छ । बिहीबार सीडीओ कार्यालय उत्तर भाग (कारागार जाने सडक)मा पार्किङ गरी राखिएको सिटी सफारी यात्रुले नै फिल्मी शैलीमा चोरी गरेको प्रहरीले जनाएको छ । बिहीबार हराएको सिटी सफारी खोजी गर्दै जाँदा चालकहरूले केही महिनादेखि २५ वटा भन्दा धेरै सफारी चोरी भइसकेको जानकारी गराएका छन् ।
एकै स्थानबाट लगातार सिटी सफारी हराउन थालेपछि चालकहरूले सूक्ष्म खोजी सुरु गरेका थिए । बिहीबार भद्रपुरमा हराएको सिटी बिर्तामोडको धर्मकाटा रोडमा अर्को सिटीले डोरी लगाएर तानिरहेको अवस्थामा फेला परेको थियो । यस्तै, केही दिनअघि सोही स्थानबाट हराएको सिटी आज बसपार्क क्षेत्रमा अलपत्र अवस्थामा फेला परेको छ ।
बिर्तामोडका सिटी व्यवसायी एमडी माइलाले एकै प्रकृतिबाट सिटी सफारी चोरी भएपछि खोजी सुरु गरिएको जानकारी दिए । उनका अनुसार आज पनि सोही स्थानबाट चोरी गर्दागर्दै एक जनालाई भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी गर्नेको पहिचान खुलाइएको छैन ।
चालकहरूले बताए अनुसार बिर्तामोडबाट जिल्ला अदालतमा मान्छे लिन जानुपर्ने भन्दै ९ सय, हजार रुपैयाँ भाडामा सिटी सफारी लैजाने गरेको खुलेको छ । घटना विवरण अनुसार अदालतबाट मान्छे लिएर आउनुपर्ने भन्दै बिर्तामोडबाट सिटी लैजाने गरेको थियो । त्यहाँ पुगेपछि चालकलाई अलमल्याएर सिटी चोरी गर्ने गरेको माइलाको भनाई छ ।
सिटी पार्किङ गराएर चालकलाई पनि अदालत लिएर जाँदा रहेछन्, उनले भने – चालकलाई भित्र मान्छे छ, चिया खाँदै बसौँ भन्दा रहेछन् । चिया खाँदाखाँदै पिसाब गरेर आउँछु वा भित्र मान्छे लिएर आउँछु भनेर हिँडेपछि सिटी भएको ठाउँ पुगेर चोरी गर्दा रहेछन् । चालकलाई भित्र अलमल्याउने र अर्को बाटो घुमेर सिटी चोरी गर्ने गरेको खुलेको छ ।
चोरीपछि फेला परेका सिटीमा ब्याट्री नभेटिएको बताइएको छ । बिर्तामोडबाट दर्जनौँ सिटी हराइसकेपछि व्यवसायीहरूले चनाखोसाथ खोजी सुरु गरेका थिए ।