२०८३ जेष्ठ १ गते , शुक्रबार

भद्रपुरका ५० विपन्न परिवारलाई झुल वितरण

sajilo news
झापा
२०८३ बैशाख ३१ गते , विहीबार
भद्रपुरका ५० विपन्न परिवारलाई झुल वितरण

भद्रपुर । भद्रपुरका विपन्न ५० परिवारलाई झुल वितरण गरिएको छ । आज भद्रपुर नगरपालिकाको सभा हलमा आयोजित एक कार्यक्रमका बीच नेपाल भारत मैत्री संघ झापाले भद्रपुर नगरपालिका वडा नं ५ र ६ का ५० परिवारलाई झुल वितरण गरेको हो । लामखुट्टे र लामखुट्टेका कारण हुनसक्ने डेंगुलगायतका बिमारी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै लामखुट्टे र डेंगुबाट जोगिन सहयोग पुर्‍याउने उद्देश्यले विपन्न परिवारलाई झुल वितरण गरिएको बताइएको छ ।

संघका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको झुल वितरण गरेका थिए ।

वडा कार्यालयहरूको सिफारिसमा विपन्न परिवारलाई झुल वितरण गरिएको संघका अध्यक्ष रेग्मीले बताए । उनले नेपाल भारत मैत्री संघ केन्द्रीय समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरि विपन्न परिवारलाई झुल वितरण गरिरहेको पनि बताए ।

नेपाल भारत मैत्री संघ झापाकी सचिव शर्मिला अधिकारीले सञ्चालन र उपाध्यक्ष शिवकुमार राजभण्डारीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रवाल, नगरप्रमुख पोखरेल, वडाध्यक्ष राजवंशीले नेपाल–भारतबीच सदैव समुधुर सम्बन्ध रहेको जिकिर गर्दै यस्ता सहयोगी कार्यले सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । यद्यपि, वडाध्यक्ष राजवंशीले झुलको गुणसतरमाथि भने प्रश्न उठाएका थिए । 

 

 

सम्बन्धित समाचार