आजदेखि बिपी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने
सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो।
यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।