कचनकवलमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक अभाव
कचनकवल । कचनकवल गाउँपालिकाको शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक व्यवस्थापनमा ढिलाइ भइरहेको भन्दै सरोकारवालाहरूले गाउँ शिक्षा समितिको ध्यानाकर्षण गराएका छन्। यो ध्यानाकर्षण तथा अपिल नवीनकुमार ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै हाल कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक अभाव रहेको बताएका छन्। यसअघि शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिएको तथा कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक प्रकाशन भई कार्यान्वयनमा आएको उल्लेख गरिएको छ।
स्थानीय पाठ्यक्रमले स्थानीय परिवेश, कला, संस्कृति, भेषभूषा, रहनसहन तथा प्राकृतिक सम्पदासम्बन्धी विषयलाई समेटेर विद्यार्थीलाई स्थानीय ज्ञानसँग जोड्ने उद्देश्य राख्ने भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइएको छ।
तर हालसम्म कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार नभएको र विद्यालयहरूमा कम्प्युटर विषय अध्यापन गराउने शिक्षकसमेत अभाव रहेको जनाइएको छ। साथै विगतमा प्रकाशन गरिएका कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकको निरन्तरताबारे पनि अन्योल सिर्जना भएको भन्दै तत्काल विद्यार्थीमाझ पुस्तक पुर्याउन माग गरिएको छ।
त्यसैगरी कक्षा ४ र ५ का पाठ्यपुस्तक लेखन कार्य तथा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माणमा अविलम्ब पहल गर्न गाउँ शिक्षा समिति, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई अपिल गरिएको छ।