२०८३ बैशाख ३१ गते , विहीबार

सामुदायिक विद्यालयकी छात्रा शिवानीले ल्याइन् ३.९६ जीपीए, बाह्रदशीकै उत्कृष्ट नतिजा

sajilo news
झापा
२०८३ बैशाख ३१ गते , विहीबार
सामुदायिक विद्यालयकी छात्रा शिवानीले ल्याइन् ३.९६ जीपीए, बाह्रदशीकै उत्कृष्ट नतिजा

(जनक राउत) बाह्रदशी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले बाह्रदशी गाउँपालिकाको शिक्षा क्षेत्रमा एउटा नयाँ सन्देश दिएको छ। 

सामुदायिक विद्यालयमा पढेर उत्कृष्ट नतिजा हासिल गर्न सकिँदैन भन्ने भाष्यलाई गलत साबित गर्दै बाह्रदशी गाउँपालिका-५ स्थित फूलबारी माध्यमिक विद्यालयकी छात्रा शिवानी पोख्रेलले ३.९६ जीपीए ल्याएर पालिकाभित्र रहेका १५ वटा निजी तथा सामुदायिक विद्यालयमध्ये सर्वाधिक अंक हासिल गर्न सफल भएकी छिन् । शिवानीको यो सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्र हैन, यसले सामुदायिक विद्यालयप्रतिको जनविश्वासलाई समेत मजबुत बनाएको छ। मेहनत, अनुशासन र निरन्तर अभ्यासले अवसर जहाँ भए पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी हुन्।

विशेष कुरा त के छ भने, शिवानीका बुबाआमा दुवै जना सामुदायिक विद्यालयकै शिक्षक हुन्। बुबा शिव पोख्रेल विगत दुई दशकदेखि सामुदायिक विद्यालयमा अध्यापन गराउँदै हाल बाह्रदशी–४ स्थित जनविकास माविमा कार्यरत छन् भने आमा हेमलता पोख्रेल फूलबारी माविमै १७ वर्ष देखि अध्यापन गराउँदै आएकी छिन्। 
आजको समयमा अधिकांश सामुदायिक विद्यालयका शिक्षक, जनप्रतिनिधि र कर्मचारीहरूले सरकारी विद्यालयप्रति अविश्वास गर्दै छोराछोरीलाई निजी विद्यालयतर्फ पठाउने प्रवृत्ति बढिरहेको बेला पोख्रेल दम्पतीले भने फरक उदाहरण प्रस्तुत गरेका छन्। छोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराए, जसको परिणाम आज उत्कृष्ट उपलब्धिका रूपमा देखिएको छ। 
शिवानीको सफलता अहिले बाह्रदशीभरि नै चर्चा र प्रेरणाको विषय बनेको छ। उनको नतिजाले सामुदायिक विद्यालयका विद्यार्थीमा नयाँ उत्साह थपेको मात्रै छैन, अभिभावकलाई पनि “गुणस्तरीय शिक्षा विद्यालयको नामले होइन, मेहनत र वातावरणले निर्धारण गर्छ” भन्ने सन्देश दिएको छ।

स्थानीयवासीको अनुसार शिवानी सानैदेखि पढाइमा मेहनती, अनुशासित र जिज्ञासु विद्यार्थीका रूपमा चिनिन्थिन्। शिक्षकहरू पनि उनको निरन्तर लगनशीलता र अध्ययन शैलीको खुलेर प्रशंसा गर्छन्। शिवानीको यो उपलब्धिले बाह्रदशी गाउँपालिकाको शैक्षिक क्षेत्रमा सकारात्मक ऊर्जा थपेको छ। सामुदायिक विद्यालयप्रति बढ्दो निराशाका बीच आएको यो नतिजाले अब धेरै विद्यार्थी र अभिभावकको सोच बदल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार