हैदराबादलाई हराउँदै गुजरात शीर्षस्थानमा उक्लियो
सनराइजर्स हैदराबादविरुद्व ८२ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ। जितसँगै गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ।
मंगलबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको हैदराबाद १४.५ ओभरमा ८६ रनमै समेटियो। हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए। सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ तथा इशान किशनले ११ रन जोडे।
गुजरातका कगिसो रबाडा र जेसन होल्डरले तीन विकेट लिए। प्रसिद्व कृष्णाले दुई विकेट हात पार्दा मोहम्मद सिराज र राशिद खानको नाममा एक÷एक विकेट रह्यो। त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा पाँच विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो।
गुजरातका ओपनर साइ सुदर्शनले सर्वाधिक ६१ रनको इनिङ खेले। उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। वासिङ्टन सुन्दरले ५० रनको योगदान गरे। उनले ३३ बलमा सात चौका र एक छक्का प्रहार गरे। निशान्त सिन्धुले २२ रन बनाउँदा जेसन होल्डर ११ रनमा अविजित रहे।
चौथो विकेटका लागि सुदर्शन र सुन्दरबीच ६० रनको साझेदारी भएको थियो। हैदराबादका प्रफुल हिंगे र साकिब हुसेनले समान दुई विकेट लिए। प्याट कमिन्सले एक विकेट हात पारे।
लगातार पाँचौँ तथा समग्रमा आठौँ जितसँगै गुजरातले १२ खेलमा १६ अंक जोडेको छ। पराजित हैदराबाद समान खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा