२०८३ बैशाख २१ गते , सोमबार

होर्मुजमा फसेका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’को घोषणा

sajilo news
एजेन्सी
२०८३ बैशाख २१ गते , सोमबार
होर्मुजमा फसेका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’को घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा फसेका व्यावसायिक जहाजहरूको सहयोगका लागि नयाँ पहल ‘प्रोजेक्ट फ्रिडम’को घोषणा गरेका छन्।

ट्रम्पले यो पहल उक्त महत्वपूर्ण समुद्री मार्गबाट आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकी सहयोग माग गरेका विश्वका विभिन्न देशहरूका लागि ल्याइएको बताएका छन्।

ट्रम्पले ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै विश्वभरका धेरै देशहरूले होर्मुज जलमार्गमा फसेका आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा निकाल्न अमेरिकालाई अनुरोध गरेको जानकारी दिएका छन्। उनले ती देशहरू पश्चिम एसियामा जारी विवादमा कुनैपनि रूपमा संलग्न नरहेकोसमेत  बताएका छन्।

‘हामीले इरान, पश्चिम एसिया र अमेरिकाको हितलाई ध्यानमा राख्दै ती देशहरूलाई सूचित गरेका छौँ। उनीहरूका जहाजहरूलाई यी प्रतिबन्धित जलमार्गहरूबाट सुरक्षित रूपमा बाहिर निकालिनेछ भनेका छौँ,’ ट्रम्पले भनेका छन्, ‘उनीहरूले स्वतन्त्र रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो।’

ट्रम्पले यस पहललाई मानवीय प्रयासका रूपमा व्याख्या गर्दै यसको उद्देश्य चालक दल र व्यावसायिक ढुवानीको सुरक्षा सुनिश्चित गर्नु रहेको प्रस्ट पारेका छन्।  उनले धेरै जहाजहरूमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भइरहेको उल्लेख गर्दै ठूलो संख्यामा रहेका चालक दलका सदस्यहरूका लागि स्वस्थ र स्वच्छ वातावरण आवश्यक रहेको पनि बताएका छन्।

‘प्रोजेक्ट फ्रिडम’अन्तर्गत जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया सोमबार बिहानदेखि सुरु हुने जनाइएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिनिधिहरूले इरानसँग निकै सकारात्मक छलफल गरिरहेको जानकारी दिएका छन्। 

राष्ट्रपति ट्रम्पले यो मानवीय प्रक्रियामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न कडा चेतावनी पनि दिएका छन्। उनले भने, ‘यदि, कुनैपनि प्रकारले यो मानवीय प्रक्रियामा अवरोध पु¥याइयो भने दुर्भाग्यवश त्यस्तो हस्तक्षेपलाई बलपूर्वक सामना गरिनेछ।’ 

सम्बन्धित समाचार