२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुर र झापा गाउँपालिकामा ब्राउन सुगरसहित चारजना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १० गते , विहीबार
भद्रपुर र झापा गाउँपालिकामा ब्राउन सुगरसहित चारजना पक्राउ

भद्रपुर । भद्रपुर र झापा गाउँपालिकामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ करिब ६ बजे भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई शंकाको आधारमा जाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिक बाहेक ८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। ब्राउन सुगरसहित पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका–१ बस्ने अन्दाजी २४ वर्षीय भिमराज खजुम, सोही ठाउँका २९ वर्षीय राजमान राई र २३ वर्षीय लक्ष्मण लिम्बु रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

त्यस्तै आज अपराह्न करिब साढे ३ बजे झापा गाउँपालिका–४ चौधरी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ बस्ने ३१ वर्षीय मदन मिश्रलाई शंकाको आधारमा जाँच गरेको थियो। चेकजाँचका क्रममा उनले लगाएको सर्टको कलरभित्र लुकाइछिपाइ ल्याएको ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार