अनलाइन जुवा खेलाउने १० जना पक्राउ
सुनसरीको धरानमा अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार राति करिब १०:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा अनलाइन जुवा (1Xbet) सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको हो। सो क्रममा जुवा खेल्दै तथा खेलाउँदै गरेका १० जनालाई नियन्त्रणमा लिइएको धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए।
पक्राउ पर्नेहरूमा धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बु र धरान–१५ का ३५ वर्षीय भवानी दाहाल रहेका छन्।
प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए।