२०८३ बैशाख ३ गते , विहीबार

१३ वर्षीय विद्यार्थीद्वारा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ बैशाख ३ गते , विहीबार
१३ वर्षीय विद्यार्थीद्वारा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

टर्कीमा लगातार दोस्रो दिन विद्यालयमा गोली प्रहारको घटना सार्वजनिक भएको छ। बुधबार एउटा मिडल स्कुलमा १३ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षक र आठ विद्यार्थीसहित ९ जनाको मृत्यु भएको छ। घटनामा करिब १३ जना घाइते भएका छन्। आक्रमणकारीले पछि आफैँलाई पनि गोली हानेका थिए। 

आक्रमणकारी कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए। उनी आफ्नो झोलामा पाँचवटा हतियार र सातवटा म्यागजिन लिएर विद्यालय पुगेका थिए। प्रारम्भिक जानकारीअनुसार ती हतियार उनका बुबाको हुनसक्ने अनुमान गरिएको गभर्नर मुकेर्रम उनलुएरले जनाएका छन्।

गभर्नरका अनुसार, आक्रमणकारी विद्यालयभित्रका दुईवटा कक्षाकोठामा प्रवेश गरेका थिए, जहाँ कक्षा ५ का विद्यार्थीहरू पढिरहेका थिए। उनले त्यहाँ अन्धाधुन्ध गोली चलाएका थिए। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शल्यक्रिया भइरहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा गोलीबारी भइरहँदा धेरै विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको दोस्रो तलाबाट हामफालिरहेको देखिएको छ। सीसीटीभी फुटेजमा पनि आक्रमणकारीले विद्यालयको करिडोरमा विद्यार्थीहरूमाथि गोली चलाइरहेको देखिएको छ। न्यायमन्त्री अकिन गुर्लेकले यो घटनाको गम्भीर अनुसन्धान सुरु गरिएको बताएका छन्।

यसअघि मंगलबार मात्रै टर्कीको सनलिउर्फा प्रान्तमा यस्तै घटना भएको थियो। एक १८ वर्षीय युवकले आफ्नो पुरानो विद्यालयमा पसेर अन्धाधुन्ध गोली चलाउँदा विद्यार्थी र शिक्षकसहित १६ जना घाइते भएका थिए।

गभर्नर हसन सिल्डाकका अनुसार, पूर्वविद्यार्थीले सटगन लिएर विद्यालय पुगेका थिए र अन्धाधुन्ध फायरिङ गरेपछि विद्यालयभित्रै लुकेका थिए। प्रहरीले घेरा हालेपछि आत्मसमर्पण गर्न अस्वीकार गर्दै उनले पनि आफैँलाई गोली हानेका थिए।

टर्कीमा विद्यालयभित्र यस्ता गोली प्रहारका घटनाहरू निकै कम हुने गर्छन्। तर, लगातार दुई दिनमा भएका यी विभत्स घटनाहरूले देशको सुरक्षा व्यवस्था र हतियार नियन्त्रणलाई लिएर गम्भीर चिन्ता बढाएको अधिकारीहरुले बताएका छन्।

सम्बन्धित समाचार