२०८३ बैशाख २ गते , बुधबार

इजरायलले लेबनानमा आक्रमण गर्दा २४ घण्टामा ३५ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ बैशाख २ गते , बुधबार
इजरायलले लेबनानमा आक्रमण गर्दा २४ घण्टामा ३५ जनाको मृत्यु

बेरुत   ।   लेबनानी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार पछिल्लाे २४ घण्टामा लेबनानमा भएका इजरायली आक्रमणहरूमा कम्तिमा ३५ जनाको ज्यान गएको छ। यो हताहती  लेबनान र इजरायलका अधिकारीहरू वासिङ्टन डिसीमा वार्ताका लागि भेला भएका समयमा भएकाे हाे । 

इरान समर्थित हिजबुल्लाहका ठेगानाहरूलाई लक्षित गरी इजरायलले ६ हप्ताअघि सुरु गरेको यो सैन्य कारबाही अहिले पनि जारी छ। इरान र अमेरिकाबीच हालै युद्धविराम सम्झौता भए तापनि लेबनानमा इजरायली आक्रमण रोकिएको छैन।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि यता भएका आक्रमणहरूमा कम्तीमा २,१२४ जनाकाे मृत्यु भएकाे छ। जसमा १६८ बालबालिका रहेका छन्। त्यस्तै कम्तिमा ८८ स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन्।

अर्कोतर्फ, इजरायली सेनाले मंगलबार दक्षिण लेबनानको बिन्त जबेल क्षेत्रमा आफ्ना धेरै सैनिक घाइते भएको जानकारी दिएको छ। सोही क्षेत्रमा यसै साता इजरायलले स्थलगत आक्रमण तीव्र पारेको छ, जहाँ केही दिनअघि एक लेबनानी प्यारामेडिक (स्वास्थ्यकर्मी) मारिएका थिए।

सेनाका अनुसार बिन्त जबेलमा तीन इजरायली सैनिक गम्भीर घाइते भएका छन्। पछि, एक बटालियन कमाण्डर पनि गम्भीर घाइते भएको र उनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको बताइएको छ।

बेरुतमा रहेका डक्टर्स विदाउट बोर्डर्सका आपतकालीन संयोजक क्रिस्टोफर स्टोक्सले इजरायली आक्रमणको मानवीय प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन् ,'घनावस्ती भएका क्षेत्रहरूमा गरिएका यी अन्धाधुन्ध प्रहारहरू पूर्ण रूपमा अस्वीकार्य छन्। हामीले अस्पतालहरूमा घाइतेहरूको ठूलो चाप देखेका छौँ, जहाँ बालबालिकाहरूले आफ्ना सम्पूर्ण परिवार गुमाएका छन्। स्वास्थ्य सेवा केन्द्र, कर्मचारी र बिरामीहरूको सुरक्षा हुनुपर्छ। मानिसहरूलाई बारम्बार जबरजस्ती विस्थापित गर्नु युद्ध अपराध हो र यो तुरुन्त रोकिनुपर्छ।'

सम्बन्धित समाचार