इरानले पठायो अमेरिकालाई युद्ध अन्त्यको प्रस्ताव
अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि इरानले पाकिस्तानलाई शान्ति प्रस्ताव पठाएको छ। अमेरिका–इरान युद्धमा पाकिस्तानले मध्यस्थकर्ताको मूमिका खेलिरहेको छ। समाचार एजेन्सी आईआरएनएका अनुसार इरानले युद्धविराम नभई युद्ध अन्त्यको प्रस्ताव पठाएको हो।
अमेरिकाले पठाएको युद्धविराम प्रस्ताव अध्ययनपछि इरानी प्रतिनिधि मण्डलले यसको जवाफ दिएको हो। अमेरिकी प्रस्तावमा इरानको नेतृत्वले करिब २ हप्ता गहन समीक्षा गरेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज खोल्न र नखोले ऊर्जा संरचना र पूर्वाधारहरुमा ध्वस्त पारिदिने आजसम्मको अल्टिमेटम दिएपछि इरानले मध्यस्थकर्ता देश पाकिस्तानलाई प्रस्ताव पठाएको बताइएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले मध्यस्थकर्ताको माध्यमबाट प्रस्ताव आदान प्रदान भएको पुष्टि गरेका छन्। । तर, अमेरिकाले पठाएको १५ बुँदे शान्ति योजना भने इरानले अस्वीकार गरेको उनको दाबी छ।
यसको साटो इरानले १० अनुच्छेदको स्थायी शान्ति योजना प्रस्ताव गरेको छ। जसमा इरानले क्षेत्रीय संघर्षको अन्त्य, स्ट्रेट अफ हर्मुजको सुरक्षा, पुनर्निर्माण र प्रतिबन्ध फुकुवा लगायतका माग राखेको छ।