२०८३ बैशाख २ गते , बुधबार

वडाध्यक्ष कार्कीको उदाहरणीय कार्य : आफ्नै तलबबाट ज्येष्ठ नागरिकलाई धार्मिक–पर्यटकीय भ्रमण

sajilo news
झापा
२०८२ चैत्र २१ गते , शनिबार
वडाध्यक्ष कार्कीको उदाहरणीय कार्य : आफ्नै तलबबाट ज्येष्ठ नागरिकलाई धार्मिक–पर्यटकीय भ्रमण

भद्रपुर । झापा भद्रपुर नगरपालिका–३ का वडाध्यक्ष हेमबहादुर कार्कीले आफ्नै तलब–भत्ताबाट ज्येष्ठ नागरिकलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराउन लागेका छन् ।

शनिबार आयोजना गरिएको एक दिने भ्रमणमा वडा नम्बर–३ का १२० जना ज्येष्ठ नागरिकसहित कुल १३० जना सहभागी रहेका छन् । ज्येष्ठ नागरिकहरूलाई नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल बराह क्षेत्र र धरानस्थित श्रम, संस्कृति पार्कसम्म भ्रमण गराइने छ । 

वडाध्यक्ष कार्कीका अनुसार ज्येष्ठ नागरिकलाई लक्षित गर्दै यो कार्यक्रम चौथो पटक सञ्चालन गरिएको हो। “यो मेरो वार्षिक कार्य योजना अन्तर्गतको कार्यक्रम हो। निर्वाचित भएपछि ज्येष्ठ नागरिकलाई धार्मिक तथा पर्यटकीय क्षेत्र घुमफिर गराउने मेरो लक्ष्य थियो,” उनले भने।

उनले यस कार्यक्रममा कुनै पनि सरकारी बजेट प्रयोग नगरी आफ्नै तलब–भत्ताबाट रकम जम्मा गरेर निरन्तर सञ्चालन गर्दै आएको बताए। “कहीँ कतैबाट एक रुपैयाँ पनि नलिई आफ्नै तलब भत्ताबाट यो कार्यक्रम गर्दै आएको छु,” कार्कीले भने।

भ्रमणका लागि तीन वटा बस रिजर्भ गरी उनीहरूलाई लगिएको छ । करिब एक लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान छ । भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई खुसी र आनन्दको अनुभूति भएको बताएका छन्। वडाध्यक्षको यो पहललाई ज्येष्ठ नागरिकहरूले उदाहरणीय कार्यक्रम भन्दै प्रशंसा गरेका छन्।

 

सम्बन्धित समाचार