कलेज हिँडेकी छात्राको दिनदहाडै सडकमै हत्या
भारत । भारत हिमाचल प्रदेशको मण्डी जिल्लाको गोपालपुर पञ्चायतअन्तर्गत पर्ने नैन गाउँ नजिक एक १९ वर्षीया कलेजकी छात्रा सिया गुलेरियाको दिनदहाडै सडकमा हत्या गरिएको छ ।
जिल्ला प्रहरीका अनुसार सोमबार बिहान भएको यस घटनामा एक अभियुक्तलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले बाली काट्ने धारिलो हतियारले पीडितको घाँटीमा पटक–पटक प्रहार गरेका थिए । यस घटनाले हिमाचल प्रदेशभर आक्रोश फैलाएको छ । ग्रामीण क्षेत्रमा महिलाको सुरक्षा, बस सेवाको अभाव र कानुन–व्यवस्थामाथि प्रश्न उठेको छ ।
को थिइन् मृतक छात्रा ?
सिया गुलेरिया नैन गाउँकी बासिन्दा थिइन् । उनी सरकाघाट कलेजमा भोकशनल कोर्सको दोस्रो वर्षमा अध्ययनरत थिइन् । परिवार र स्थानीयका अनुसार सिया मेहनती र पढाइमा राम्रो थिइन् । उनी आमासँगै सानी बहिनीको पनि राम्रो हेरचाह गर्थिन् । सानी बहिनीले हालै १२ कक्षाको परीक्षा दिएकी थिइन् र सियाले उनलाई कलेजमा भर्ना गराउने योजना बनाएकी थिइन् । सिया तीन बहिनीमध्ये माइली थिइन् । उनका बुबा जोगिन्द्र गुलेरिया ट्रक चालक हुन् । ठूली दिदी बद्दीमै काम गर्छिन् भने आमा र सानी बहिनी घरमै बस्छन् । सिया पढाइमा मात्र राम्रो नभई परिवारको आर्थिक सहयोग पनि गर्थिन् ।
छोरीको हत्यापछि भावुक सियाका बुबा जोगिन्द्र गुलेरियाले भने, ‘आज बिहान मात्रै मेरो सियासँग कुरा भएको थियो । करिब ९ बजे ऊ कलेज जान्थी । त्यसपछि मैले घरखर्चका लागि पैसा पठाएर श्रीमतीलाई फोन गरें । जे सुनें, त्यसले मेरो खुट्टामुनिको जमिन नै भासियोे । केही बेरअघि जसको हाँसो–खुशीको आवाज सुनेर मन खुशी भएको थियो, त्यही छोरीसँग यस्तो भयो । जुन कुरा सपनामा पनि सोच्न सक्दिनँ, त्यही भयो ।’
सियाले आमा र सानी बहिनीको धेरै ख्याल राख्ने गरेको उनले सुनाए । उनी सानी बहिनीलाई १२ कक्षा सकेपछि कलेजमा भर्ना गराउने र परिवारको खर्च उठाउने योजना बनाइरहेकी थिइन् । छोरीको हत्यापछि सियाकी आमाको अवस्था खराब भएको छ । पूरा परिवार शोकमा डुबेको छ । गाउँलेका अनुसार सडकको अवस्था खराब हुनु र बस सेवा नहुनुले सियालाई पैदल मुख्य चोकसम्म जानुपर्ने हुन्थ्यो ।
हत्याको क्रूर विवरण
प्रहरीका अनुसार सिया बिहान कलेज जान घरबाट निस्किएकी थिइन् । गोपालपुरको नैन गाउँ नजिकको सुनसान ठाउँमा हमलाकारीले उनलाई रोकेर हतियारले आक्रमण गरेको थियो । सियाले आफूलाई जोगाउन अनुरोध गरेकी थिइन् । तर पनि अभियुक्तले घाँटीमा लगातार प्रहार गर्यो, जसले गर्दा उनको हात समेत काटिएको थियो । शवलाई पोस्टमार्टमका लागि नेरचौक मेडिकल कलेज पठाइएको थियो र त्यसपछि मंगलबार बिहान गाउँमै अन्त्येष्टि गरिएको थियो ।
के भन्छन् सियाका साथी ?
सियाकी साथी कशिश, जो सधैं उनीसँगै कलेज जान्थिन्, उनले माही गाउँको बस स्टपमा सियाको प्रतीक्षा गरिरहेकी थिइन् । दुवै मोबाइलमा कुरा गरिरहेका थिए । सियाले भनिन् ‘उनी दुई मिनेटमा बस स्टपमा पुग्नेछिन् । त्यही बेला फोनमा दुई पटक चिच्याएको आवाज सुनियो । घटनास्थलमा पुग्दा सिया रगतले लतपतिएको अवस्थामा भुइँमा लडिरहेकी थिइन् ।’
अर्की साथी कशिशले भनिन्, ‘हामी सधैं सँगै कलेज जान्थ्यौं । सिया नैन गाउँबाट माही बस स्टपसम्म पैदल आउँथिन् । अहिलेसम्म कसैले उनलाई दुःख दिएको वा केही भनेको घटना थिएन । घरबाट निस्किने बित्तिकै उनले मलाई फोन गर्थिन् ।’ ‘आज पनि मैले उनलाई सोध्न फोन गरेकी थिएँ । अहिले उनको चिच्याएको आवाज कानमा गुन्जिरहेको छ । मलाई बुझ्न गाह्रो भइरहेको छ-किन यस्तो भयो ? किन उनलाई यति निर्दयी तरिकाले मारियो ?’